झापा- झापाको विर्तामोडस्थित एक नर्सिङ क्याम्पसमा अध्ययनरत ३५ भन्दा बढी नर्स एकै पटक बिरामी भएका छन् । कञ्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत पिसिएल नर्सिङका विद्यार्थीहरु सबैमा एकै पटक फुड पोइजनिङ भएर अस्पताल भर्ना गरिएको हो । उक्त कलेजमा एक सय जति विद्यार्थी अध्ययनरत छन् ।
मंगलबार बिहानको करीब ३ बजेदेखि उनीहरु सबैलाई बान्ता हुने र झाडा पखाला लागेपछि विर्तामोडस्थित विर्ता सिटी अस्पतालमा भर्ना गरिएको बताइएको छ । भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ । अस्पताल भर्ना भएकाहरु स्टाफ नर्सका प्रथम, दोस्रो र तेस्रो बर्षका विद्यार्थी हुन् ।
अस्पतालका कर्मचारीका अनुसार ३५ भन्दा बढी नर्सिङ विद्यार्थी एकै पटक अस्पतालको आकस्मिक कक्षमा आउँदा कोही बान्ता गर्दै थि भने कोही शौचालयमा जान तछाँड मछाड गर्दै थिए । अस्पतालले उनीहरु सबैलाई स्लाइन चढाउदै आवश्यक उपचार गरेको छ ।
उपचारमा संलग्न चिकित्सक डा सुदीप भट्टराईले बासी खानाको कारण उनीहरुमा फुड पोजनिङ भएको हुनसक्ने बताए । ‘सबैलाई एकै प्रकारको समस्या एकै पटक देखिएका कारण यो खानाका कारण नै भएको हुनसक्छ,’ उनले भने, ‘होस्टलमा दिइएको खानमा केही गडबढी हुनसक्छ ।’ उनले अहिले सबैको स्वास्थ्यमा सुधार आएको बताए ।
इन्स्टिच्युटका अध्यक्ष ध्रुव शिवाकोटीले उनीहरुलाई सँधै झै राम्रो खाना नै खुवाइएको दाबी गरे । उनका अनुसार होस्टलमा बसेका ५÷६ जना भने रातीदेखि नै सामान्य बिरामी भएको थिए ।



तपाईको प्रतिक्रिया :