साउन १६ – भारतका रक्षा मन्त्री मनोहर पर्रिकरको ‘देश विरुद्ध बाेल्ने कुनै पनि मानिसलाई सबक सिकाउने’ भन्ने भनाईले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । रक्षा मन्त्री पर्रिकरले भनेका थिए ‘देश विरुद्ध बोल्ने कुनै पनि व्यक्तिलाई सबक सिकाउनु जरुरी छ, जसरी एक अभिनेता र एक अनलाइन ट्रेन्डिङ कम्पनीलाई सबक सिकाइएको थियो ।’
रक्षा मन्त्रीको यो भनाईपछि कांग्रेसका नेता रणदीप सुरजेवालले ट्वीट गरे ‘मनोहर पर्रिकरको काम पाकिस्तान जस्ता बाहिरी दुश्मनबाट हाम्रो रक्षा गर्नु हो या आमिर खान जस्ता देशबासीलाई धमकाउनु हो ?’ सुरजेवालाले अर्को ट्वीटमा लेखेका छन् ‘पर्रिकरको भनाईबाट यो साबित हुन्छ कि हरेक किसिमका विरोधी आवाजलाई दबाउनु र दलित तथा अल्पसंख्यकलाई लखेट्ने षडयन्त्र भइरहेको छ । के यो नै रहो राज धर्म ?’
पर्रिकरको भनाईपछि गएको वर्ष आमिर खानको असहिष्णुता सम्बन्धी भनाई फेरि चर्चामा आएको छ । पर्रिकरले आमिर खानको नाम नलिइकनै उनी प्रति लक्षित आलोचना गरेका हुन् ।
पर्रिकरले भने ‘एक अभिनेताले भने कि उनकी श्रीमती भारतबाट बाहिर जान चाहन्छिन्, यो दुर्भाग्यपूर्ण बयान हो । यदी म गरिब छु र मेरो घर सानो छ भने के भयो, त्यती बेला पनि मैले आफ्नो घरसँग प्रेम गर्छु र त्यसलाई बंगला बनाउने सपना देख्छु ।’
@allwomen1voice ट्वीटर ह्याण्डलमा लेखिएको छ ‘जब कुनै मन्त्रीको स्थिति कमजोर हुन्छ, उ मुसलमानलाई धमकाएर आफ्नो नम्बर बढाउने कोशिश गर्छ, त्यसैले पर्रिकरले मोदीलाई खुशी बनाउन आमिर खानलाई धमकाएका हुन् ।’ @akil_bakhshi ट्वीटर ह्याण्डलमा लेखिएको छ ‘आमिर खानलाई सबक सिकाउनु आवश्यक छ, तर सलमान खानलाई छैन । किनकी असहमति अपराध हो तर हिंसा, हत्या र बलात्कार होइन ।’
अभिनेत्री पूजा भट्टले ट्वीट गरेका छन् ‘आमिर खानमाथि रक्षा मन्त्रीको वेचैन गर्ने खालको बयान ।’
– स्रोत : बिबिसी हिन्दी



तपाईको प्रतिक्रिया :