श्रावण २२, २०७३- बर्ष ६५का मिश्री तामाङको स्वभाव र काम पनि मिश्री जस्तै छ । गुलियो सबैलाई मन पर्छ, त्यस्तै मिश्रीलाई पनि धेरैबर्ष पहिले सुढिनी र अहिले स्वयमसेविकाको रुपमा गाउँका सबैले मन पराउँछन् ।
आजभन्दा २० बर्षअघिसम्म उनले सुढेनीको रुपमा नाम्दू गाविसमा काम गरिन् । त्यसपछि निरन्तर उही गाविसको महिला स्वयमसेविका हुन मिश्री । त्यसैले उनलाई गाउँका धेरैले सहयोगी दिदी भन्छन् । बुढ्यौली उमेरमा पनि मिश्री निरन्तर महिलाहरुको समस्या खोज्दै गाउँ चाहनर्छिन् । हसिलो र जाँगरिलो उनलाई महिलाहरुले गर्भवती हुनेवित्तिकै सम्झन्छन् । जानेसम्म र भ्याएसम्म महिलालाई सहयोग गर्ने उनी गाउँका प्रसव बेथाले छटपटाइरहेका महिलाहरुको सारथी बनेकी छिन् । नवजात शिशुहरुको जीवन जोगाएकी छिन् ।
सुढेनी छँदा उनले धेरै गर्भवतीलाई घरमै सुत्केरी गराइन् । दुई दशक अघिसम्म नेपालमा सुत्केरी गराउने स्वास्थ्य केन्द्रहरु प्रयाप्त थिएनन् । गाउँघरमा हुने महिला र नवजात शिशुको वास्तविक रुपमा सरकारी तर्फबाट हेरचाह गर्ने तिनै सुढेनी हुन्थे । ‘पहिले हातले विस्तारै गर्भवतीको पेट छामेर बच्चाको स्वास्थ्य पत्ता लगाउनुपर्थ्यो,’ मिश्रीले सुढेनी काम गर्दाको अनुभव सुनाउदै भनिन, ‘अनेक उपाय लगाएर घरमै सुत्केरी गराउनु पथ्र्यो ।’
परिस्थिति बदलिदै गयो । मातृशिशु सुरक्षामा राष्ट्रिय/अन्तराष्ट्रिय लगानी हुनथाल्यो । अहिले नाम्दू स्वास्थ्य चौकी सुत्केरी केन्द्र बनाइएको छ । त्यहाँ चिकित्सक नियमित बस्न थालेपछि मिश्रीको काम गर्भवती र बालबालिकालाई स्वास्थ्य केन्द्रसम्म पुर्याउने पुल बनेको छ । महिलाहरुले घर र समुदायमा गर्नुपर्ने स्वास्थ्यसम्बन्धि कार्य घरमै पुगेर सरकारी दुतको रुपमा उनले काम गर्छिन् । महिलाहरुलाई स्वास्थ्य केन्द्रबाट हुने सेवा लिन तिनै मिश्रीले अभिप्रेरित गर्छिन् ।
महिला स्वयसेविकाको पदमा प्रमोसन हुँदा मिश्रीले ठूलो आश्वासन पाएकी थिइन् । हातले छामेर बच्चाको अवस्था बुझ्दै हिडेकी मिश्रीको हातमा ढुङ्ग्रो जस्तो उपकरण दिइयो । त्यसबाट सुनेर बच्चाको अवस्था बुझ्न पाउदा उनीलाई धेरै जान्ने भइएको जस्तो भयो ।
सानो छदा मिश्रीलाई आमा बुबाले छोडेर गयो । जसले उनको बाल्याकाल कष्टर भयो । सानैमा विहे भयो । तीन वटा बच्चाहरु भयो । बच्चाहरु सानै हुँदा आजभन्दा करिब २५ बर्ष अघि श्रीमानको निधन भयो । सुरुमा महिनाको तीनसय जति कमाईले सिंगो परिवार धान्नुपर्ने बाध्यता मिश्रीलाई आइपर्यो । खासै आम्दानी नहुने भएपनि सुढेनी पेशा छाड्न उनको मनले मानेन् । लौरो टेकेरै भए पनि गर्भवती महिलाहरुको सेवा गरिरहने उनले बताइन् ।
सुढेनीबाट महिला स्वयसमेविकामा प्रमोशन गर्नेबेला उनलाई गाउँमा नौ जना स्वयमसेकिका बनाउन भनियो । ‘त्यतिखेर फोहरी पेशा भन्दै महिला यस्तो काम गर्न मान्दैनथे । कतिपयलाई घरपरिवारले स्वीकृति दिदैनथे,’ मिश्रीले भनिन्, ‘तलब आउछ भनेर नौ जना भर्ती हुन पठाएँ, तलब नदिएपछि मलाई नै कतिपयले तलब माग्न आए ।’
सहश्राब्दीको आठ वटा लक्ष्य प्राप्तिमा नेपालले मातृशिशु स्वास्थ्यमा राम्रो प्रगति गरेको छ । जसमा महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका पनि महत्वपूर्ण छ । तर अझै उक्त कार्य गर्ने महिलाहरु भने दु:खमै काम गरिरहेका छन् । आमा र बालबच्चाको स्वास्थ्य सुधारेर खुसी पार्ने मिश्री पनि आयआर्जनको दृष्टिले असाध्यै दुखित छिन् । कयौदिन भोकभोकै बसेर भए पनि यो काम नछाडेको मिश्री बताउँछन् ।
महिला स्वयमसेविका बसन्धुरा तमाङले मिश्री गाउँभर काम गर्ने महिला स्वयमसेविका भन्दा जेठी र प्रेरणादायक व्यक्ति भएको बताउँछिन् । बुढ्यौली उमेरमा पनि उनको कृयाशिलताले महिला स्वास्थ्य सुधारमा योगदान पुगेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले पनि उनलाई प्रोत्साहन कार्यक्रममा सहभागी गराउँदै आएको छ ।



तपाईको प्रतिक्रिया :