काठमाडौं,२६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बुधबार बधाई तथा शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेको रिपोर्टर्स क्लब नेपालका प्रतिनिधिहरुसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले भने,‘हाम्रो पार्टीले मन्त्रीको नाम टुंगो लगाइसकेको छ, कुनै व्यवधान छैन, काँग्रेस नेविसंघको महाधिवेशनमा बढि केन्द्रित छ, काँग्रेससँगै गर्न हामी पखाईमा छौं, आजै काँग्रेससँगै कुरा गरेर भए काँग्रेससहित नभए हाम्रो पार्टीबाट मन्त्रिमण्डल विस्तार हुन्छ ।’


प्रधानमन्त्री दाहालले सरकारले संविधान कार्यान्वयन, भुकम्पपछिको पूर्ननिर्माण र जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने भ्रष्टाचार, कालो बजारी नियन्त्रण गर्ने कुरामा प्राथमिकतामा राखेको उल्लेख गर्दै भने,‘मैले यसबारेमा जनताले प्रत्यक्ष राहत महशुस गर्नेगरि दु्रत गतिमा काम गर्न सचिवहरुलाई निर्देशन दिईसकेको छु ।’ उनले आफूले प्रभावकारी र शक्तिशाली अनुगमन गर्ने कुरालाई प्राथमिकतामा राखेको स्पष्ट पारे ।
विगतमा भारत र नेपालको महँगी अनुपात लगभग समान रहेको पाईएपनि अहिले भारतको बजार उस्तै रहेको तर नेपालमा मुल्यवृद्धि ह्वात्तै बृद्धि हुनु चिन्ताजनक भएको भन्दै प्रधानमन्त्री दाहालले भने,‘मुल्यवृद्धि र कालोबजारी रोक्नेबारेमा मेरो पुरै ध्यान केन्द्रित रहन्छ ।’

भुकम्पपछिको मुलुकको पूर्ननिर्माण असाध्यै ढिलो गतिमा बढेको उल्लेख गर्दै आफुले पहिलो क्याविनेट बैठकबाटै ४५ दिनभित्र भुकम्पपीडितलाई पहिलो किस्ता उपलब्ध गराउन निर्देशन दिईसकेको बताए ।

संविधानको सर्वस्विकार्यताको लागि मधेशी, जनजाति, थारु, आदिवासी, प्छिडिएका वर्ग लगायत सबैका समस्या हल गर्दै मुलुकको आन्तरिक राष्ट्रिय एकता बलियो बनाउनु नै आफ्नो जिम्मेवारी भएको प्रधानमन्त्री दाहालको भनाई थियो ।

उनले आन्तरिक राष्ट्रिय एकता सुदृढ नगरीए मुलुक अप्ठ्यारोतिर जान सक्ने चिन्ता व्यक्त गरे । उनले थपे,‘मधेशवादी दलका माग पुरा गर्ने दिशामा सरकार अघि बढिसकेको छ, केही माग पुरा गराउन संविधान संशोधनको आवश्यक छ, त्यसमा पनि राष्ट्रिय सहमति कायम गरेर अघि बढ्छु ।’

सरकारले आर्थिक वृद्धि र समृद्धिको लागि सरकारले तात्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने,‘हाम्रो यो संकल्पमा सबैको साथ र सहयोगको अपेक्षा छ, एक्लैले बल गर्दैमा हुने कुरा होईन, त्यसैले मिडियाको भूमिका झनै महत्वपूर्ण हुन्छ ।’

उनले सरकारसँग चूनौति र अवसर दुवै रहेको भन्दै विगतका तितामिठा सबै खाले अनुभवबाट सिक्दै यसपटक आफ्नो सबै वुद्धि र विवेक प्रयोग गरेर अहिले देखिएका सबै खाले राष्ट्रिय चूनौति पार गर्ने दृढ विश्वास व्यक्त गरे ।

सञ्चारकर्मीको न्युनतम पारिश्रमिक कहिलेबाट लागु हुन्छ भन्ने जिज्ञासामा प्रधानमन्त्री दाहालले भने,‘यसबारेमा मैले सबै पक्षसँगे कुरा गरिरहेको छुृ, यसलाई छिट्टै निश्कर्षमा पुर्याउनेगरि काम गर्नेछु ।’ उनले पत्रकारहरुको माग पुरा गर्न आफू तयार रहेको उल्लेख गर्दै थपे,‘तपाईहरुको समस्या समाधान गराएरै छाड्छु ।’
Share To:

तपाईको प्रतिक्रिया :