साउन १८ – मुम्बईको जुहु स्थित बलिउड अभिनेता अमिताभ बच्चनको घर ‘प्रतिक्षा’ मा आइतबार दिउँसो एक व्यक्ति पर्खाल नाघेर भित्र घुसे । घटना भएका बेला अमिताभ घरमै थिए । पर्खाल नाघेर अमिताभको घर पस्ने व्यक्ति बनवारी लालले सबै सुरक्षागार्डलाई छक्याएका थिए । तर कुनै किसिमको अप्रिय घटना हुनु पूर्वनै अमिताभका निजी सुरक्षागार्डले बनवारीलाई पक्रिएर जुहु प्रहरीको जिम्मा लगाए । जुहु प्रहरी चौकीका वरिष्ठ निरीक्षक एसआर घोसालकरले भने ‘आरोपीको नाम बनवारी लाल यादव हो । २५ वर्षका यादव बिहारबाट मुम्बई आएका हुन् ।’
बनवारी लालले आफूलाई अमिताभको फ्यान तथा गायक बताएको प्रहरी निरीक्षक घोसालकरले बताए । आफू अमिताभलाई गीत सुनाउन पर्खाल नाघेर भित्र छिरेको प्रहरी समक्ष बनवारी लालले बयान दिएका छन् । बलिउडमा सोझो तरिकाले ब्रेक नमिल्ने भएकाले अमिताभलाई गीत सुनाएर सजिलै ब्रेक लिन चाहेको बनवारी लालको भनाई छ । आफ्नो अरु कुनै गलत नियत नरहेको उनले दाबी गरेको प्रहरीले जनाएको छ । प्रहरीले अहिले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
– स्रोत : बिबिसी हिन्दी



तपाईको प्रतिक्रिया :