नेपालगन्ज,२९ साउन । नेपालगन्ज उद्योग बाणिज्य सङ्घको निर्वाचनमा त्रिपक्षिय भिडन्त हुने भएको छ । अघिल्ला बर्षझैँ यसपालीको निर्वाचनमा पनि नेपाली काँग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिच नै प्रतिष्पर्धा हुने भएको छ ।  निर्बाचन घोषणा सँगै राजनीतिक दलबाट सिफारिस गरिएका उम्मेदवारहरु मतदाता र ब्यवसायीका अगुवासँगको भेटलाई तिब्रता दिएका छन् । ब्यवासीका नेताहरु चुनावी मैदानमा उत्रिएपनि लडाइँ राजनीतिक दल बिच नै हुने गरेको छ ।
सङ्घको नेतृत्वका लागि ३ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । नेपाली काँग्रेस निकट प्रजातान्त्रिक व्यापार सङ्घबाट बर्तमान कार्यसमिति सदस्य गोपाल प्रसाद अधिकारी, एमाले निकट नेपाल राष्ट्रिय बाणिज्य सङ्घका तर्फ बर्तमान वरिष्ठ उपाध्यक्ष कपिल प्रसाद अधिकारी र माआवादी केन्द्रको समर्थनमा पूर्व उपाध्यक्ष नन्दलाल बैश्यले उम्मेदवारी घोषणा गरि सकेका छन् । तर, बैश्यले आफू माओवादी केन्द्रको मात्र नभई समावेशी समूहको तर्फबाट उम्मेदवार भएको बताएका छन् । ‘मलाई माओवादी केन्द्रले अध्यक्षको उम्मेदवार बनाए पनि म समावेशी समूहको उम्मदवार हुँ,’ उनले भने ।

नेपालगन्ज उद्योग बाणिज्य सङ्घले आगामी भदौँ ११ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । सङ्घको हालै बसेको बैठकले आगामी भदौँ ११ गतेको लागि निर्वाचनको मिति तोकेको छ । तर, निर्वाचनको मिति घोषणा भएपनि तोकिएको मितिमा निर्वाचन हुने सम्भावना एकदमै न्यून छ । घोषणा नगरेमा वर्तमान कार्यसमिति नै भङ्ग हुने नीतिगत ब्यवस्था रहेका कारण अन्तिम समयमा निर्वाचन घोषणा गर्न सङ्घ बाध्य भएको अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताए । कार्यसमितिका बिवाद भएका कारण सङ्घले अधिवेशनको मिति घोषणा गर्न सकेको थिएन ।

नेपालगन्ज उद्योग बाणिज्य सङ्घको बहुमत कार्यसमितिको निर्णयबाट निलम्बन गरिएका कोहलपुरका सदस्यले पुनरावलोकनको लागि उजुरी दर्ता गराएका छन् । बहुमत कार्यसमितिले १९५ जना सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

कार्यसमितिले निर्णयमा पुनरावलोकन नभएमा अदालत जाने बताएका कारण तोकिएको समयमा निर्वाचन हुने सम्भावना न्यून रहेको छ । स्वयम् संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ तोकिएको समयमा निर्वाचन हुने आशङ्का ब्यक्त गर्छन् । ‘तोकिएको समयमा हुनुपर्छ भन्ने नै हो मेरा धारणा, तर खारेजीमा परेको निर्णय नभएसम्म त कसरी निर्वाचन हुन्छ त,’ अध्यक्ष श्रेष्ठले भने, ‘उनीहरुले साधारण सभामा जान पाउनु पर्ने माग राखेका छन्, त्यो भएन भने त उनीहरु अदालत जान्छन् नै, अदालतको फैसला नभएसम्म निर्वाचन हुने कुरै भएन ।’

एमाले निकट राष्ट्रिय बाणिज्य सङ्घ भने खारेज भएका सदस्यताको टुङ्गो नलागेसम्म निर्वाचनमा जाने पक्षमा छैन । सङ्घका अध्यक्ष भास्कर काफ्लेले सदस्यताको टुङ्गो नलागेसम्म निर्वाचन हुन नसक्ने बताए ।

उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार कपिल प्रसाद अधिकारीले निलम्बनमा परेका सदस्यको टुङ्गो नलागेसम्म निर्वाचन गराउँदा बैधानिकताको प्रश्न चिन्ह खडा हुने बताए । उनले भने, ‘निर्वाचन घोषणा गर्नुपर्ने बाध्यता नै थियो, त्यसैले घोषणा भयो, तर सदस्यताको टुङ्गो नलागेसम्म हुने कुरामा बैधानिक प्रश्न चिन्ह खडा हुन्छ ।’

‘बहुमतको निर्णयलाई साधारणसभामा पठाउने निर्णय भएको छ, त्यसको अन्तिम फैसला साधारणसभाले नै गर्ने छ,’ वर्तमान कार्यसमितिका सदस्य समेत रहेका अधिकारीले भने, ‘हाम्रो कमिटी काम चलाउ मात्र हो, यसलाई साधारणसभा गर्ने नैतिक अधिकार छैन, निर्वाचन पछिको कमिटीले गर्ने साधारणसभाले सदस्यताको टुङ्गो लगाउने छ, निर्वाचनसम्म उनीहरुको सदस्यता स्थगन हुन्छ ।’ उनले बहुमत कार्यसमितिको निर्णय अनुसार निम्बलन गरिएको सदस्यता स्थगन गरि निर्वाचनसम्म जाने बताए ।

कोहलपुरको खारेज भएको सदस्यता सदर भएमा एमाले निकटका कपिल अधिकारी बलियो हुने आशङ्का गर्दै काँग्रेस र माओवादी केन्द्र निकट व्यवसायी एक भएर विधान विपरित सदस्यता निलम्बन गरेको आरोप एमाले निकट व्यवसायीले लगाउँदै आएका छन् ।
उता, काँग्रेस र माओवादी केन्द्र निकट व्यवसायीले कोहलपुरको सदस्यता निलम्बन हुँदा फाइदा हुने विश्लेषण गर्दै साधारणसभा नगरि निर्वाचन हुनुपर्ने अडानमा रहेको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बाँकेका अध्यक्ष बसन्त लामिछानेले घोषणा गरेपछि निर्वाचन गराउने कर्तव्य वर्तमान कार्यसमितिको रहेको बताए ।

‘घोषणा गरेपछि गराउनु पर्छ, नत्र यही कार्यसमिति कलङ्कित हुन्छ,’ लामिछानेले भने,’ त्यो अपजस अध्यक्षले नै लिनु पर्छ ।’  अध्यक्षका उम्मेदावार गोपाल अधिकारीले चुनाव घोषणा भएको प्रचार प्रसार सुरु गरि सकेको बताए । उनले बहुमत कार्यसमितिको निर्णयमा पुनरावेदनको लागि निवेदन परेपछि साधारणसभामा जाने निर्णय भएको बताए ।
Share To:

तपाईको प्रतिक्रिया :