श्रावण २५, २०७३- मंगलबार सेयर बजार परिसूचक नेप्से साढे ८४ अंकले बढेको छ । अघिल्लो दिन ८९ अंकले घटेर १ हजार ६ सय ७५ दशमलव ९१ झरेको नेप्से मंगलबारको बृद्धिले १ हजार ७ सय ६० दशमलव ४२ अंकमा उक्लेको छ । करिब २७ मिनेटको कारोबारमा नेप्से ८४ दशमलव ५१ अंकले बढेको हो ।
बजार खुलेको पहिलो घन्टामै बजार उच्च दरले बढ्न सुरु गरेको थियो । यही कारण पहिलो ३० मिनेटमै ३ प्रतिशतभन्दा धेरैले बढेपछि सर्किट ब्रेकरमार्फत १५ मिनेटका लागि कारोबार बन्द गरियो ।
त्यसपछि खुलेको बजारमा पनि उच्च बृद्धिको दबाब रहिरहयो । परिणाम एकै छिनमा नेप्सेको बृद्धि ४ प्रतिशत नाघेपछि दोस्रो सर्किट ब्रेकरमार्फत ३० मिनेटका लागि बजार बन्द गरियो । त्यसको आधा घन्टापछि खुलेको बजारमा पनि उच्च बृद्धि देखियो र नेप्सेको बृद्धि ५ प्रतिशत पुग्यो । यसकारण १२ बजेर ११ मिनेट ४९ सेकेन्डमा दिनभरका लागि सेयर कारोबार बन्द भयो । सर्किट ब्रेकरमार्फत कारोबार बन्द भएको समय घटाउँदा उक्त दिन करिब २७ मिनेटमात्र सेयर कारोबार भएको छ ।
सेयर कारोबारको नियम अनुसार कारोबार सुरु भएको पहिलो घन्टामा ३ प्रतिशतभन्दा धेरैले बढ्दा/घट्दा १५ मिनेट, दोस्रो घण्टामा ४ प्रतिशतभन्दा धेरैले बढ्दा /घट्दा ३० मिनेट कारोबार बन्द गरिन्छ । यस्तै, तेस्रो घण्टामा ५ प्रतिशत भन्दा धेरैले बजार बढे/ घटे पछि उक्त दिनका लागि कारोबार बन्द गरिन्छ । मंगलबार पनि यसै गरिएको हो ।
मंगलबार ७ वटा समूह अन्तर्गतका कम्पनीहरुको सेयर कारोबार भएकोमा सबै समूहको परिसूचक उच्च अंकले बढे । तीमध्ये पनि बैंकिङ, बिमा, होटेल र जलविद्युत समूहको परिसूचक ५ प्रतिशतभन्दा धेरैले बढे । एक हजार १ सय १२ वटा कारोबारबाट ८४ वटा कम्पनीका ३ लाख १० हजार ८ सय ७७ कित्ता सेयर किनबेच भए । उक्त किनबेचबाट २९ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।



तपाईको प्रतिक्रिया :