काठमाडौं, २१ साउन । विगत छ वर्षदेखि वीर अस्पतालको क्याबिन नं ७ मा अनशनमा बस्दै आएकी गङ्गामाया अधिकारीले नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालबाट न्याय पाउने आशा गरेका छन् ।


गङ्गामायाले शुक्रवार पत्रकारसँग कुराकानी गर्दै नयाँ प्रधानमन्त्री आएसँगै आफ्नो छोराको हत्यारालाई कारबाही हुने विश्वास व्यक्त गरेका छन् । उनले यदि यो सरकारबाट पनि आफूलाई न्याय प्राप्त नभए अबको पाँच दिनपछि आमरण अनशन बस्ने समेत बताए ।

उनले भने – ‘प्रचण्ड माओवादी पार्टीका मात्रै नभएर राष्ट्रकै प्रधानमन्त्री भएकाले मजस्ता अन्यायमा रहेकालाई उनले न्याय दिनैपर्छ ।’ यही साउन १६ गतेदेखि उहाँले वीर अस्पतालमा नै बसेर अनशन गर्न थालेको पाँचवर्ष पूरा भएर ६ वर्ष लागेको छ ।

विसं २०७१ असोज ६ गते अनशन थालेको ३३४ दिन हुँदा उनका श्रीमान् नन्दप्रसादको अनशनरत अवस्थामा नै मृत्यु भएको थियो । उनको शव अहिले पनि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने गङ्गामायाले अडान राखेपछि नन्दप्रसादको शव अस्पतालमा नै राखिएको छ ।

‘श्रीमानको लास बाकसमा राखिएको छ’ गङ्गामायाले भने–‘सरकारले मरेको मान्छेको लाश कति दिनसम्म बाकसमा राख्नसक्छ रु न्याय नदिने हो भने म पनि अब बाँच्नुको कुनै अर्थ नै छैन ।’

जीवनमा कहिल्यै सिटामोल समेत खानुपर्ने अवस्था नआएको बताउने गङ्गामाया अहिले औषधि र पानीको भरमा मात्र जीन्दगी लम्ब्याउनुपर्दा निकै कष्ट भएको बताउछन् ।

उनले भने–‘मलाई दिन र रात कटाउन गाह्रो भइसक्यो । घन्टा र मिनेटसमेत छुट्याउन सक्दिन ।’ दुई वर्षअघि श्रीमान् बितेपछि एक्लो योद्धा झैँ अनशनरत गङ्गामाया अब आफूले कि न्याय प्राप्त गरेर सहज जीवनयापन गर्ने कि मरेर जाने अन्तिम निर्णयमा पुगेको बताउछन् ।

उनले छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पशुराम पौडेललगायतलाई किटानी गरी चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको भए पनि हालसम्म उक्त मुद्दाको कुनै सुनुवाई भएको छैन । सर्वोच्च अदालतको आदेशमा आरोपी भीमसेन पौडेल र पशुराम पौडेललाई पक्राउ गर्नासाथ तत्कालीन (एमाओवादी) नेताको विरोधका कारण उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो ।

विसं २०६१ मा गङ्गामायाका १७ वर्षे छोरो कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको थियो । आफ्ना छोराको हत्या गर्नेविरुद्ध कारबाहीको माग गर्दै पाँच वर्षअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका अधिकारी दम्पतीले आफूहरुलाई सरकारले बेवास्ता गरेको भन्दै त्यहीँ अनशन सुरु गरेका थिए ।

प्रहरी प्रशासनले अधिकारी दम्पतीलाई कमलपोखरी प्रहरी चौकीमा लगी ३९ दिन थुनेपछि उनीहरुले भोक हडताल सुरु गरेका थिए । भोक हडताल सुरु गरेपछि उनीहरुलाई जबर्जस्ती वीर अस्पतालको आकस्मिक कक्षमा राखेर अनशन तोडाउने प्रयत्न गरिए पनि त्यो सफल हुनसकेन । परिणाम २०७१ साल असोज ६ गते नन्दप्रसादको मृत्यु भयो ।
Share To:

तपाईको प्रतिक्रिया :