नेपालगन्ज, १२ भदौ । मधेशी तथा मुस्लिम समुदायमा दाइजो (दहेज ) प्रथा कायमै छ । दाइजोका कारण महिला हिंसाका घटना भएको कुरा सार्वजनिक भइरहेका छन् । दाइजो नल्याएको भन्दै खान लगाउन नदिने, घर निकाला गर्ने समस्यालाई सामान्य रुपमा लिइने गरेको पाइन्छ । दाइजो नल्याएको वा कम ल्याएकै कारण महिलाहरु घर भित्रै हिंसाको सिकार भइरहेका छन् । दहेज नल्याएको वा कम ल्याएकै कारण कुटपिट, घर निकाला देखि आगो लगाएर मार्ने प्रयाससम्मका घटना हुँदै आएका छन् ।

मधेशी र मुस्लिम समुदायमा दहेजका कारण धेरै महिला प्रताडित भएका छन्, कुटिएका छन्, जलाइएका छन्, पीडा सहन नसकेर कतिपय महिला त मर्न समेत बाध्य पारिएका छन् । सात जन्म साथ दिने प्रण गरी विवाह गरेर ल्याउने श्रीमानसहित परिवारका सदस्यबाट बढि महिला हिंसा भएको पाइन्छ । यसमा सासु, ससुरा, नन्द, देवरको प्रमुख रुपमा संलग्नता देखिने गरेका छ । दाइजो नल्याउने महिलालाई हेला र अपमान गर्ने कुरा त सामान्य छ, मुस्लिम, मधेशी समुदायमा । त्यति मात्र होइन हिंसाका शिकार बनाउने गरिएको छ ।


साउन २३ गते नेपालगन्ज उपमहानगरपालिका–१९, बालेगाउँका १८ बर्षिया आस्रुन अन्सारीलाई ४ लाख दाइजो नल्याएकै कारण श्रीमान सहित सासु, सुसराले निर्घात कुटपिट गरेका छन् । आस्रुनको आँखामा गम्भिर चोटपट लागेको छ । श्रीमान वसिम र सासु बाबा दैया जेलमा छन् । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ भने ससुरा र काका ससुरा नसिम फरार छन् । उनीहरु भारतमा लुकेर बसेका छन् ।

बाँकेको शम्शेरगन्ज गाविस–२, अकलघरुवा बस्ने संगिता यादवको दहेजकै कारण मृत्यु हुन पुग्यो । दाइजोको नाममा घर परिवारले दिने शारिरीक र मानसिक यातना सहन नसकेर संगिताले आत्महत्या गर्न बाध्य भइन् । सो घटनालाई सामान्य आत्महत्याको रुपमा मिलाइएको छ । अधिकांश दहेज घटना मिलापत्रमा नै सकिने गरेका छन् । अति गम्भिर अवस्थामा मात्रै दहेजका घटना बाहिर आउने गरेका छन् । यी त प्रतिनिधिमुलक घटना मात्रै हुन् ।

बाँके २०७२/०७३ मा ९ वटा दहेज (दाइजो) सम्बन्धि घटनाका उजुरी महिला विकास कार्यालयमा दर्ता भएका छन् । दर्ता नहुने घटना धेरै रहेको महिला विकास कार्यालयले जनाएको छ । अधिकांश दहेजका घटना मिलापत्रमा सकिने गरेको महिला विकास कार्यालयका निमित्त प्रमुख पुष्पा रिजालले बताइन् । उनले मधेशी र मुस्लिम समुदायका महिला दाइजो प्रथाका कारण ंिहसामा पर्ने गरेको बताइन् । सो समुदाय दाइजो प्रतिष्ठाको विषयको रुपमा समेत लिइने गरेको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट हर्ने प्रहरी निरीक्षक वीर बहादुर थापाका अनुसार आत्महत्याका धेरै घटना हुने गरेका छन् । दाइजोका कारण विष सेवनदेखि आफै बाध्यता आत्महत्या भइरहेको बताउँदै निरीक्षक थापा भन्छन्, ‘खान लगाउन नदिने, घरबाट निकाल्ने घटना धेरै हुन्छन्, विष सेवन गर्ने लगायत घटना समेत दाइजो कै कारण भइरहेका छन्, तर खुल्दैन् ।’ प्रहरी निरीक्षक थापाले श्रीमान, श्रीमति बिच हुने धेरै घटना मिलापत्रमै मिलाउने गरेको स्वीकार गर्छन् ।

अधिवक्ता सुनिता शर्मा दाइजो र तिलक सम्बन्धि कानून नै नभएका कारण महिलामा हिंसाका घटना बढ्ने गरेको बताइन् । सामाजिक ब्यवहार सुधार ऐन २०३३ कार्यान्वयन गर्न सकेमा दाइजोबाट हुने महिला हिंसामा कमि आउने अधिवक्ता शर्माले बताइन् ।

किन हुन्छ् दाइजोको कारण हिंसा ?

मधेशी र मुस्लिम समुदायमा अशिक्षा र बिद्यमान परम्परागत संस्कारका कारण दहेज प्रथा कायम रहेको अधिकारकर्मी रुवि खान बताउँछिन् । तर पढेलेखेका र शिक्षित परिवारमा समेत दहेज प्रथा विद्यमान छ । उनले बढि मात्रामा मधेशी र मुस्लिम समुदायमा दहेजकै कारण घरेलु हिंसा भइरहेको बताइन् । बालविवाह, अशिक्षा, बहुबिवाह, आर्थिक कारण दहेजको निहुँमा हिंसा हुने गरेको उनले बताइन् । ‘सानैमा बिवाह हुन्छ, बुहारीले पढेको हुँदैन, सामान्य कलहमा हिंसा हुन्छ,’ अधिकारकर्मी रुवी भन्छिन्, ‘छरछिमेकी र समाजले समेत घरायसी झगडा हो, श्रीमान श्रीमतीको झगडा हो त्यसमा पर्नु हुँदैन भन्छन् त्यसले समेत दाइजो निहुमा मराणासन्न हुने गरि महिला पिट्छिन्, घरबाट निकालिन्छन्, जलाइन्छन् ।’

सामान्य अवस्थामा प्रहरी प्रशासन गम्भिर नहुँदा समेत ठूला घटना हुने गरेको खानको आरोप छ । सामान्य घटना हो भनेर प्रहरी प्रशासनले मिला पत्र गराउने गरेका कारणले समेत दाइजोको विकृति बढेको उनको भनाई छ । उनले भनिन्, ‘साना तिना घटना भनेर मिलापत्र गराउँछ, पछि तिनै घटना ठूलो हुन्छ ।’

उनले निवेदन दिएपछि प्रहरी प्रशासनले गम्भिर भएर छानविन गर्ने हो भने धेरै घटना नदोहोरिने बताइन् । उनले आस्रुनको विषयमा समेत प्रहरीले मिलापत्र गराएको कारण ठूलो घटना भएको उल्लेख गरिन् । अधिकारकर्मी खान दहेज प्रथा हटाउनको लागि मधेशी, मुस्लिम समुदायमा सचेतनाको अभियान चलाउनु पर्ने बताउँछिन् । उनले भनिन्, ‘सचेतना अति आवश्यक छ, तर त्यतिले मात्रै पुग्दैन, दहेज लिनेलाई कडा सजाय समेत दिने व्यवस्थालाई कार्यान्वयन गर्नु पर्छ ।’

Share To:

तपाईको प्रतिक्रिया :