दोलखा (बोत्ले), साउन २० – एकातिर ८ वटा लास गाडिएको ठाउँ, अर्कोतिर ७ वटा लास गाडिएको ठाउँ । दुई ठाउँको बिचबाट मोटरबाटो खनिएको छ । दुवै सामूहिक चिहानमाथि काँडाका घारीले ढाकेको छ । गाउँलेले चिहानमाथिका काँडा पञ्छाएर निगालोको लठ्ठीमा हँसिया हथौडा अंकित झण्डा गाडे । नेता, पत्रकार र केही गाउँले सामूहिक चिहान भएको ठाउँमा गए, घटनाको सामान्य जानकारी लिए । पार्टीका मान्छेले ‘लालसलाम’ गरे । चिहान हेर्न जानेमध्ये केही तिनै चिहानमा गाडिएका मान्छेका आफन्त थिए, जसका आँखामा आँसु टिलपिल देखियो । उनीहरुले घुँडा टेकेर आफन्त सम्झिए । दोलखाको काटाकुटी गाविस–१ बोत्लेमा १५ जना माओवादी कार्यकर्ता मारिएको १५ वर्ष पुगिसकेको छ । तर सशस्त्र युद्धका अरु घटनाको तुलनामा बोत्ले हत्याकाण्ड ओझेलमा परेको छ ।
के हो बोत्ले हत्याकाण्ड ?
२०५९ सालमा सरकार र तत्कालीन नेकपा माओवादी बिचको द्वन्द्व उत्कर्षमा पुगेको थियो । दुवै पक्षले एक अर्काविरुद्धको कारबाही तीव्र बनाएका थिए । माओवादीले पूर्वमा पकड जमाउँदै गएको थियो र सेनाले पनि पूर्वमा कारबाही तीव्र बनाएको थियो । २०५९ साल साउनको १८ गते बिहान सिमसिम पानी परिरहेको थियो । दोलखा काटाकुटी गाविसको बोत्ले गाउँका महिलाहरु गाईभैँसीलाई कुँडोफाँडो पकाउन, गोबर सोत्तर र दूध दुहन व्यस्त थिए । बिहानको ६ बजिसकेकाले धेरै गाउँले त उठिसकेका थिए । तर नउठेका गाउँले पनि त्यतिबेला ब्युँझिए, जतिबेला सुनसान बोत्ले गाउँ मकै भुटेजसरी गोलीको आवाजले आतंकित भयो ।
‘सुतेको बेलामा एक्कासी गड्याङगुडुङ आवाज आयो, सुरुमा त कुन चाहिँ तामाङनी जाँडको घैटोसँगै लड्यो जस्तो लाग्यो तर बाहिर हेर्दा त सेनाले गोलाबारी गरिरहेको थियो’ बोत्ले घटनाका प्रत्यक्षदर्शी मकर शाक्यले १५ जना माओवादी कार्यकर्ता मारिएको घरको अवशेष देखाउँदै भन्नुभयो, ‘हल्लाखल्ला भएपछि कौसीबाट हाम फालेर भागेँ, बाटोमा चप्पल पनि हरायो, बित्यास परेको थियो नि ।’
घटना भएको अघिल्लो दिन अर्थात २०५९ साउन १७ गते बेलुका दोलखाकै देउराली गाउँमा बैठक सकेर दुई वटा इलाका र एउटा प्लाटुन फोर्स गरी ५१ जना माओवादी कार्यकर्ता काटाकुटी–१ बोत्लेगाउँका दुई वटा घरमा सुतेका थिए । केहीसँग हतियार थियो भने धेरैजना नाचगान र सामाजिक टोलीका सदस्य भएकाले हतियार थिएन । १७ गतेकै राती सदरमुकाम चरिकोटको सेनाले बोत्लेगाउँमा माओवादी बसेको जानकारी पायो र ३१ जनाको टोली रातारात बोत्ले गाउँ हिँड्यो । सेना गाउँ पुग्दा बिहानको ६ बजेको थियो, एकजना सेन्ट्री बसेका कार्यकताबाहेक अरु सबै निद्रामै थिए । सुरुमा तत्कालीन शाही नेपाली सेनाले सेन्ट्री बसेका कार्यकर्तालाई गोली हाने । गोली चलेको थाहा पाइसकेपछि अरु कार्यकर्ता भाग्न थाले तर सेनाले सबै घर घेरिसकेको थियो । ८ जना महिला कार्यकर्ता एउटै कोठमा बसेका थिए भने अरु कार्यकर्ता छुट्टै कोठमा थिए । सेनाले ८ जना महिलालाई कोठमाभित्रै पसेर जथाभावी गोली हान्यो र ८ जनाकै ज्यान गयो ।
सेनाले सुरुमा एउटै कोठामा बसेका ८ जना महिलालाई गोली हानेर हत्या गर्यो । गोली चलेको सुनेपछि गाउँलेसँगै केही माओवादी भाग्न सफल भए, भाग्न नसकेका ७ जना कार्यकर्तालाई सेनाले नियन्त्रणमा लिएर लहरै उभ्यायो र गोली ठोक्यो । गोली चलेको सुनेपछि गाउँलेसँगै केही माओवादी भाग्न सफल भए, भाग्न नसकेका ७ जना कार्यकर्तालाई सेनाले नियन्त्रणमा लिएर लहरै उभ्यायो र गोली ठोक्यो ।
‘उभ्याएर गोली ठोकियो’
युद्धको अन्तर्राष्ट्रिय नियम अनुसार पक्राउ परेका व्यक्तिलाई गोली हान्न पाइन्न । तर दोलखा बोत्लेमा पक्राउ परेका ७ जनलाई भने उभ्याएर गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी मकर शाक्यले भन्नुभयो ‘गोली चलेपछि केही भागे, तर पक्राउ परेका माओवादीलाई माथिल्लो गोठ, बाटो र घरको भित्तामा अडेस लगाएर गोली ठोके ।’
गाउँलेलाई खाल्डो खन्न लगाएर लास गाडियो, आफन्तलाई खबर गरिएन
एकाबिहानै गाउँमा १५ वटा लासको थुप्रो देखेर गाउँले तर्सिएका थिए । गोलीका आवाजले पशुपक्षीको पनि सातो उडेको थियो । बिहानै १५ जनाको ज्यान गएपछि सेना ४ बजेसम्म गाउँमा बसेको थियो । मारिएका १५ जनाको परिवारलाई खबर गरिएन । बरु गाउँकै बिचमा गाउँलेलाई खाल्डो खन्न लगाएर एउटा खाल्डोमा ८ जना र अर्कोमा ७ जनाको लास पुरेर सेना फर्कियो ।
‘चिहानमा पनि अश्लिलता देखाइयो’
सेनाको कारबाहीमा १५ जनाको ज्यान गएपछि सेनाले गाउँमा उग्र रुप देखाएको गाउँलेको भनाई छ । घटना भएको नेवार बस्ती र वरपरका तामाङ्ग बस्ती निकै आत्तिएको गाउँलेहरु बताउँछन् । गाउँलेका अनुसार सेनाले माओवादी कार्यकर्ताका लासलाई पनि निकै अश्लिल तरिकाले गाडेका थिए । लास गाडेका एक गाउँलेले भने, ‘महिलामाथि पुरुष, फेरि पुरुषमाथि महिला गरेर निकै लाजमर्दो तरिकाले लास गाडेर गए अहिलेसम्म पनि कस्तो नमजा लाग्छ ।’
किन चर्चामा आएन त बोत्ले हत्याकाण्ड ?
२०६० सालमा रामेछापको दोरम्बामा तत्कालीन शाही नेपाली सेनाले २१ जना माओवादीको हत्या गरेपछि यो घटना राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो बहसको विषय बन्यो । लासको उत्खनन् गरेर अनुसन्धान पनि भैरहेको छ । दोरम्बाजस्ता अन्य हत्याकाण्ड पनि चर्चामा छन् । तर १५ जना मारिएको बोत्ले हत्याकाण्ड भने ओझेलमा छ । अहिले पनि दोरम्बा हत्याकाण्डको चर्चा भइरहन्छ । किन त ? नेकपा माओवादी केन्द्र दोलखाकी नेतृ देवी खड्का भन्नुहुन्छ, ‘त्योबेला पार्टीमा पनि यो कुराले ठूलो चर्चा पाउन सकेन, अनि केहीबेर दोहोरो गोली चलेको भएकाले भिडन्त जस्तो आँकलन भयो, त्यही भएर चर्चा भएन ।’ त्यो बेला सरकार र माओवादीको युद्ध निकै चर्किएको हुनाले पनि बोत्ले हत्याकाण्ड चर्चामा नआएको माओवादी नेताहरुको भनाई छ ।
लासमाथि बगेका आँसुका थोपा
बोत्ले घटना भएको १५ वर्ष पुगेको दिन गएको मंगलबार धेरैजसो मृतकका आफन्तहरु स्मृतिसभामा भाग लिन बोत्ले पुगेका थिए । सबैजनाले परिवारका सदस्यलाई गोली हानेको घर हेरे, टोलाए अनि भक्कानिए । लास गाडेको ठाउँमा पुग्दा धेरैजना आँसुका थोपा खसाल्दै रोए । काँडाको झाडी फाँडेर झण्डा गाडिएको ठाउँमा केहीले घुँडा टेकेर मृतकप्रति सम्मान र श्रद्धा ब्यक्त गरे । ‘४० वर्षको उमेरमा हामी घर परिवारलाई छाडेर जाँदा हामीलाई कस्तो भएहोला’ घटनामा मारिएका सिन्धुपाल्चोक कुभिन्डेका टोकनाथ सापकोटाका छोरा नारायण सापकोटाले रुन्चे स्वरमा दुःख पोख्नुभयो, ‘एक हिसाबले देश परिवर्तको लागि ज्यान दिनुभयो भन्ने लाग्छ, तर टुहुरो भएर बस्नुपर्दा आँसु कसरी थामिन्छ र ।’

तपाईको प्रतिक्रिया :