काठमाडौं, २६ साउन । गृह मन्त्रालयले लागुऔषधसँग सम्बन्धित नै नभएका कार्मचारीलाई तालिमका लागि विदेश पठाउने गरेको छ । तर, लागुऔषधसम्बन्धी अपराध अनुसन्धान गर्ने प्रहरी भने तालिम र स्रोत–साधनको अभावमा छन् । गृहअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कर्मचारीको लागुऔषधको सम्बन्धमा कुनै सरोकार हुँदैन । अध्यागमन कार्यालयका कर्मचारीको पनि यो कार्यक्षेत्र पर्दैन । तर, गृहले तिनै कार्यालयका कर्मचारीलाई लागुऔषधसम्बन्धी तालिममा विदेश पठाएको हो ।
अपराध अनुसन्धानका लागि स्रोत–साधन र तालिम अभाव भएको प्रहरी अधिकारीहरूले गुनासो गर्दै आएका छन् । तर, गृह मन्त्रालयले प्रहरीले लिने तालिममा समेत कर्मचारीलाई पठाउँदै आएको छ ।
भारतको नयाँदिल्लीमा हाल भइरहेको अपराध अनुसन्धानसम्बन्धी तालिममा पनि अधिकांश गृहकै कर्मचारी गएका छन् । राष्ट्रसंघको लागुऔषध तथा अपराधसम्बन्धी कार्यालयले गरेको कानुन कार्यान्वयन अधिकृत तथा फरेन्सिक विज्ञसम्बन्धी तालिममा प्रहरीलाई दुई कोटा मात्र दिइएको छ । गृहका पाँच कर्मचारी गएका छन् । गृहका सहसचिव कृष्णबहादुर राउत, उपसचिव फणिन्द्रमणि पोखरेल, अधिकृतहरू सीता घिमिरे, नारायण अर्याललगायतका कर्मचारी सो तालिममा गएका हुन् ।
आगामी महिना जापानमा हुने विपत् व्यवस्थापनसम्बन्धी तालिममा पनि गृहकै कर्मचारीलाई मात्र मनोनयन गरिएको छ । प्रहरीलाई नै भनेर आएका तालिममा बाहेक अन्य तालिममा गृहबाट सधैँ कब्जा हुने गरेको स्रोत बताउँछ । घुम्न पनि पाइने र भत्ता पनि हुने भएकाले वैदेशिक तालिममा सधैँ गृह मन्त्रालयबाट चलखेल हुने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।



तपाईको प्रतिक्रिया :