काठमाडौं, १ भदौ । झण्डै १० वर्षदेखि नयाँ नेता छान्न नपाएका नेपाल विद्यार्थी संघका प्रतिनिधि साउन २२ गते काठमाडौं टेक्दा खुसीले फुरुङ्ग थिए । साउन २३ देखि २५ गतेसम्म काठमाडौंमा बस्ने र नेविसंघका नयाँ पदाधिकारी चुनेर फर्किने उनिहरुको योजना थियो । तर प्रतिनिधि विवादले २५ गते हुने भनिएको चुनाव ९ दिन पर सर्दै आज आइतबारसम्म आइपुग्यो । ३ दिनका लागि समय मिलाएर काठमाडौं आएका प्रतिनिधि ११ दिनसम्म बस्दा वाक्क दिक्क भैसकेका छन् । सयौं प्रतिनिधि त जिल्ला फर्किएको हुनसक्ने नेविसंघका नेता बताउँछन् ।


११ दिन काठमाडौं बस्दा खर्च सकियो
महाधिवेशनमा आएका प्रनितिधीलाई नेपाली कांग्रेसले नै खाने बस्ने ब्यवस्था मिलाएको छ । काठमाडौंको सुन्धारा, बागबजार, नयाँ बसपार्क गौशला लगायतका ठाउँमा देशभरबाट आएका ३४ सय प्रतिनिधि बसेका छन् । खान र बस्न पार्टीले नै मिलाएपनि प्रतिनिधिले भने समयमा खान नपाएको गुनासो गरेका छन् । चुनाव हुने थलो र होटल टाढा हुँदा बिहानको खाना खान उनिहरुलाई निकै समस्या छ । धेरै दिन काठमाडौंको महँगीमा बस्नुपर्दा प्रतिनिधिलाई दैनिक खर्च जुटाउन पनि निकै धौ धौ परेको छ ।

‘४ दिनको लागि काठमाडौं आएका थियौं तर ११ दिन पुगिसक्दा त हाम्रो खर्च सबै सकियो’ कैलालीबाट आएकी प्रतिनिधी इश्वरी बमले भने, ‘खान बस्न त होटलमा ब्यवस्था गरेका छन् तर होटलमा खाने मौका नै मिल्दैन आफ्नै खल्तीको पैसा खर्च गर्नुपर्छ, गाह्रो छ ।’ कहिलेकाँही एक छाक मात्र भात खाएर पनि बस्नुपरेको उहाँको गुनासो छ ।

नेविसंघले खाना र बस्नको लागि सुविधा दिएपनि काठमाडौंमा पाइलैपिच्छे खर्च भएको र ११ दिनसम्म त्यो खर्च धान्न मुश्किल भएको बताउने प्रतिनिधिको सानेपामा कमि छैन ।

काठमाडौंको प्रदुषणले केहीलाई रुघाखोकी लाग्यो, कसैलाई पखाला चल्यो
काठमाडौंमा बस्ने नागरिक त सानोतिनो प्रदुषण र संक्रमणबाट अभ्यस्त भैसकेका छन् । तर उपत्यकाबाहिरबाट आउने नागरिकलाई भने यहाँको वातावरणले स्वास्थ्य समस्या निम्त्याइहाल्छ । महाधिवेशनमा भाग लिन आएका काठमाडौंं बाहिरका प्रतिनिधिले पनि काठमाडौंको फाहोरबाट अनेक समस्या झेलिसके । होटलको खानाले केही प्रतिनिधि बिरामि परेका छन् भने धुलो धुवाँको कारण रुघाखोकी र ज्वरोका कारण थलिएका छन् ।

‘आफ्नो जिल्लामा बसेजस्तो त कहाँ हुन्छ र, यहाँ बस्दा त निकै समस्या भएको छ, धेरै साथीलाई पखाला लागेको छ, केहीलाई रुखाखोकी’ कास्कीबाट आएका प्रतिनिधि गोविन्द लामिछानेले भन्नुभयो, ‘काठमाडौंको धेरैदिनको बसाइले साथीहरु बिरामि हुँदा समस्या परेको छ, तर पनि बस्नैपर्ने बाध्यता छ ।’ वाल्मिकी, विश्वभाषा क्याम्पसमा पनि मेसबाट खाना खाने ब्यवस्था मिलाइएको थियो सामूहिक खाना खाएपछि त झन धेरै जना बिरामी भएको प्रतिनिधिको गुनासो छ ।

११ दिनमा झण्डै ५ करोड खर्च
३४ सय प्रतिनिधिलाई खान बस्न र अन्य खर्च गरी नेविसंघको दैनिक झण्डै ४५ लाखका दरले खर्च भैरहेको छ । दैनिक ४५ लाखका दरले ११ दिनको खर्च हिसाब गर्दा अहिलेसम्म झण्डै ५ करोड खर्च भएको देखिन्छ । होटल र मेसको ब्यवस्थापन कांग्रेस निकट होटल ब्यावसायी संघले गरिरहेको छ । प्रतिनिधि ब्यवस्थापनमा खटिएका शिव रिमालले भने, ‘दैनिक ४५ लाखको अनुपातमा खर्च भैरहेको छ, तर एकमुष्ट रकमको हिसाब गरेका छैनौँ खर्च त निकै बढेको छ’ उनले थपे, ‘महाधिवेशन नलम्बिएको भए डेढ करोड खर्चमा सक्ने योजना थियो, तर लम्बिएर खर्च बढेको छ, यो सबै पार्टीले बेहोर्ला ।’

Share To:

तपाईको प्रतिक्रिया :