काठमाडौ– गत आर्थिक वर्ष नेपालका बाणिज्य बैंकका लागि सफलताको वर्षका रुपमा देखिएको छ । भूकम्प, नाकाबन्दी, राजनीतिक परिवर्तन लगायतको कारण बैंक तथा बित्तीय क्षेत्रमा समेत ठूलो नोक्सानी हुने अनुमान गरिएपनि त्यो अनुमान गलत सावित भएको छ ।

गत आर्थिक वर्ष २०७२/२०७३ अधिकाशं वाणिज्य बैंकले आफ्नो आम्दानी उल्लेख्य रुपमा बढाएका छन् । ब्याज आम्दानीमा देखिएको वृद्धि र खराव कर्जा घटाउन सफल भएका वाणिज्य बैंकले नाफामा पनि बृद्धि गरेका हुन् । त्यसो त नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी बढाउन दिएको समयसीमाका कारण पनि बैंकहरु नाफा बढाउन बाध्य भएका हुन् ।
केन्द्रीय बैंकले चालू आवको असार मसान्तसम्म बाणिज्य बैंकले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ । त्यसको आधार समय बितिसकेकाले पनि अधिकाशं बैंकलाई पुँजी वृद्धिको दवाव कायमै छ ।

राष्ट्र बैंकले बाणिज्य बैंकको संख्या घटाएर १५ देखि १८ वटासम्म ल्याउने उद्धेश्यले ‘फोर्स मर्जर’ सहित चुक्ता पुँजी बृद्धिको नीति लिएको थियो । तर, बाणिज्य बैंकहरु भने संख्या घटाउने भन्दापनि आफैं बलियो हुने नीतिका साथ अघि बढेकाले पनि गत आवमा नाफा बढाउन सफल भएका हुन् ।

२९ बाणिज्य बैंक मध्ये अहिलेसम्म १९ वटाले आफ्नो चौथो त्रैमासिक आर्थिक विवरण सार्वजनिक गरिसकेका छन् ।
त्यसमध्ये सरकारी स्वामित्वको नेपाल बैंक सबै भन्दाबढी नाफा कमाउने बैंकको रुपमा दर्ज भएको छ ।

बैंकले आफ्नो सम्पत्ति बिक्रि गरि आम्दानी बढाएपछि समग्र नाफा पनि बढेर गएको हो । नेपाल बैंकले गत आर्थिक बर्षमा तीन अर्व रुपैयाँ भन्दावढी मुनाफा आर्जन गरेको हो ।

बैंकले तारागाउँ होटल, नेपाल इन्सुरेन्स लगायतको सेयर विक्रि गरेर आम्दानी बढाएको हो । बैंकको निक्षेप र कर्जा लगानी पनि गत आवमा बढेको छ । गत आवमा निक्षेप ११ अर्ब रुपैयाँले बढेर ८९ अर्ब र कर्जा १० अर्बले बढेर ६३ अर्ब ५२ करोड पुगेको छ ।


यस्तै, अहिलेसम्म दोस्रो बढी नाफा गर्ने बैंकका रुपमा नविल बैंक छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आवको तुलनामा ७३ करोड रुपैयाँले नाफा बढाएको हो । नबिल बैंकले गत आबमा ८० करोड रुपैयाँले खुद ब्याज आम्दानी बढाएको छ । नेपाल इन्भेष्टमेन्ट बैकले पनि गत आवमा २ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ । ब्याज आम्दानीकै कारण बैंकको नाफा बढेको हो ।

आइतवार मात्र चोथो त्रैमासिक विवरण सार्वजनिक गर्ने एभरेष्ट बैंकको नाफा एक अर्ब ५७ करोड रुपैयाँबाट बढेर एक अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
यस्तै, नेपाल एसबिआइ बैंकले एक अर्ब ६ करोडको नाफालाई बढाएर एक अर्ब ३३ करोड पुर्याएको जनाएको छ ।

भर्खरै मात्र एक आपसमा गाभिएर बनेको बैंक अफ काठमाण्डू लुम्बिनीले पनि ७५ करोड ८१ लाख रुपैयाँ नाफा गरेको छ ।
लुम्विनी बैंकको नाफा बढेकाले मर्जरपछि यो स्थिति देखिएको हो । तर, गत आवमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने नाफा घटाएको छ । अघिल्लो आवमा एक अर्ब २९ करोड नाफा आर्जन गरेकमाा गत आवमा भने एक अर्ब २६ करोड मात्र नाफा भएको जनाएको छ ।

केही दिन अघि विवरण सार्वजनिक गर्ने हिमालयन बैंकले गत आर्थिक बर्षमा १ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको तुलनामा ८० करोड रुपैयाँले बढी हो । बैंकले अघिल्लो अवमा १ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । नबिल बैंकले गत आर्थिक बर्षमा २ अर्ब ८२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले अघिल्लो आवको तुलनामा ७३ करोड रुपैयाँले नाफा बढाएको हो । यस्तै, नेपाल बंगलादेश बैंकले ३८ करोड ४३ लाख रुपैयाँ बढी नाफा गरेको छ । गत आवमा १ अर्ब १९ करोड रुपैयाँ नाफा पुर्याएको हो ।
प्राइम कमर्सियल बैंकले पनि एक अर्ब रुपैयाँ भन्दाबढी मुनाफा गरेको छ भने अघिल्लो आवमा ७४ करोड ५५ लाख नाफा गरेको प्राइमले गत आवमा भने एक अर्ब १२ करोड ८२ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पनि नाफा अघिल्लो आवको तुलनामा ५७ प्रतिशतले बढाएर ७० करोड ३० लाख ८८ हजार रुपैयाँ पुर्याएको छ ।

Share To:

तपाईको प्रतिक्रिया :