श्रावण २०, २०७३- माअाेवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल दाेस्राे पटक प्रधानमन्त्री भएपछि जनताले कस्ताे प्रतिक्रिया जनाए ? र कस्ता कस्ता सुझाव दिए ? । कान्तिपुर दैनिककाे पाठक प्रतिक्रियामा स्तम्भमा प्रकाशित केही सुझाव र टिप्पणीहरु यस्ता छन् ।


१३ सुझाव
धेरै उत्तेजित हुने, जथाभावी बोल्ने, प्रतिपक्षलाई चिढाउने, जनतालाई अहिले हुन नसक्ने आशा देखाउने काम नगर्ने ।
भारत र चीन दुवैलाई दुबैको ठाउँमा राखेर देशको नीति तर्जुमा गर्ने, दुवै देशबाट पाउनुपर्ने पारवहन सुविधाका लागि अन्तर्राष्ट्रिय जगतमा कुरा उठाउने ।
नेपालमा गर्नुपर्ने विकास निर्माणका काममा दुवै देशको सुझाव, सल्लाह र सहयोग निरन्तर लिने, तर यसो गर्दा आफ्नो देशलाई घाटा पर्ने खालको कुनै पनि काम नगर्ने ।
असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने ।
मधेस, पहाड र हिमाललाई सधैं एकढिक्का राख्ने ।
सिमानामा भएका तस्करी, अन्याय, अत्याचार र असमानता अन्त्य गर्न स्थानीय नेपाली जनताको समूह गठन गरी उनीहरूलाई नै त्यसविरुद्ध परिचालन गर्ने ।
लिपुलेक, सुस्ताबारे कठोर निर्णय लिएर देशको राष्ट्रियता जोगाउने ।
भारत र चीन दुवै देशको भ्रमण गरी दुवै देशको राष्ट्रपति स्तरको भ्रमण नेपालमा गर्न आग्रह गर्ने ।
महंगी जथाभाबी बढाउनेलाई तुरुन्त कारबाही गर्ने ।
नक्कली कारोबार गर्ने, नक्कली समान बेच्ने, नक्कली औषधी बेच्ने, नक्कली शिक्ष्।क, डाक्टर तथा अन्य पेसामा रहेकाहरूलाई तुरुन्त जेल हाल्ने ।
चुस्त मन्त्रीमण्डल बनाउने ।
सम्पूर्ण नेता, कर्मचारी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति विवरण दैनिक पत्रिका, अनलाइनमा उपलब्ध गराउने ।
भ्रष्टाचारशून्य वर्ष भनेर २०१७ लाई मनाउने ।
– डा. तीर्थराज घिमिरे
खुमलटार, ललितपुर

वास्तवमा प्रचण्डले कुनै नयाँ काम गर्नै पर्दैन ...
जनयुद्धताकाका अभियोगहरू त सबै राजनीतिक रङमा मिसिएर ‘डिसमिस’ भैसके । त्यसपछि पनि विशेषत: फर्जी लडाकु र टेप प्रकरणले एकताका प्रचण्डको आलोचना भएको थियो । अब ती सबैले बिर्सी पनि सके । यता देशको अराजक राजनीतिक परम्परालाई उपयोग गर्दै, आफूलाई जबर्जस्ती चतुर राजनीतिक खेलाडी सावित गर्दै, घाटा र अलोकप्रियतालाई पनि नाफा र लोकप्रियतामा बदलेर प्रचण्ड ३९ औं प्रधानमन्त्री बन्न सफल भएका छन् ।

नेकाजस्तो संसदको पहिलो ठूलो दलको प्रस्ताव र समर्थनमा प्रधानमन्त्री बनेको हँुदा, भोलिका दिनमा प्रचण्डलाई ‘म संसदको बहुमतले, संसदीय प्रक्रियाबाट प्रधानमन्त्री बनेको हुँ’ भनेर फुर्ती लाउने सुअवसर त प्राप्त होला । तर उनी प्रधानमन्त्री हुँदैमा देशमा शान्ति, सुशासन, सदाचार, विकास होलाजस्तो चाहिँं लाग्दैन । जनयुद्धकालमा अनेक थरी भाषण गर्न सजिलो थियो । अहिले गणतन्त्र आएको ८ वर्ष भइसक्दा पनि तिनको बानीमा पुरै परिवर्तन भएजस्तो लाग्दैन । सत्यनिरूपण तथा मेलमिलाप आयोगमा उजुरीको चाङ छ ।

तिनमा आधाजसो त प्रचण्डकै पार्टी र नाममा परेको होला । तिनलाई निष्प्रभावी बनाउने हुन् कि ! उहिलेदेखि नै सबै कुरामा भारतमुखी बनेको परनिर्भर देशलाई रातारात आत्मनिर्भर बनाउने चमत्कार पनि भाषणमा बाहेक कसैले गर्नसक्ने कुरै भएन । पुरै देशमा राष्ट्रवादी नेताहरूको अभाव छ । वास्तवमा प्रचण्डले कुनै नयाँ काम गर्नै पर्दैन । खालि ओलीका पालामा सुरु भएका र ओलीले उठाएका काम पुरा गरे भइहाल्छ ।

– कमला राजभण्डारी
भक्तपुर–१७, सिर्जनानगर
म्यादी सरकारले ९ महिना काट्न पाउने सम्भावना कम छ
कुनै बेला नेपालको पहिलो राष्ट्रपति भन्दै भित्ता—भित्तामा फोटो झुन्डाइएका प्रचण्ड राष्ट्रपति त हुन पाएनन्, तर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्न सफल भए । तिनै प्रचण्ड फेरि प्रधानमन्त्री बनेका छन् । सरकार गठनमा लगनगाँठो गाँसिएका कांग्रेस र माओवादीबीच सैद्धान्तिक रूपमा कुनै कुरा मिल्दैन । माओवादीले आन्तरिक रूपमा कांग्रेसलाई प्रमुख शत्रु नै भनेर किटान गरेको छ । नेपाली राजनीति सधंै सत्ताको वरिपरि घुमिरहेको छ ।

अहिले विचारमा सधैं अस्थिर रहने प्रचण्ड र सत्ताका लागि जे पनि गर्न तयार रहने शेरबहादुर देउवा एक ठाउँमा आइपुगेका छन् । माओवादी र कांग्रेसका बीचमा ९ महिना प्रचण्डले र त्यसपछि देउवाले सरकारको नेतृत्व लिनेगरी लिखित सहमति भएको छ । म्यादी सरकार कस्तालाई भनिन्छ भन्ने हेक्का नराखी प्रचण्डले बेला—बेलामा अरुलाई म्यादी सरकार भन्दै आएका थिए । तर आजसम्म बनेको सरकारले यसरी लिखित रूपमा दिन र मिति तोकेर सरकारको नेतृत्व गरेका थिएनन् ।

यस अघि सरकार बदल्ने कुरामा नेताहरूबीच भद्र सहमति हुने गरेको भए पनि दिन किटान गरी लिखित रूपमा भएको यो पहिलोपटक हो । म्यादी सरकारले ९ महिना काट्न पाउने सम्भावना कम छ, तथापि काट्नै पाएछ भने पनि आजदेखि गन्ती सुरु भएको छ ।

– डा. ढाकाराम सापकोटा
शिक्षाको मुद्दालाई अब कसरी अगाडि बढाउँछन् हेर्न बाँकी छ...
नेकपा माओवादी केन्द्रका अक्ष्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेरि एकपटक नेपाली जनताले प्रधानमन्त्रीको रूपमा पाउँदा कतै खुसियाली त कतै दु:ख प्रकट भइरहेको छ । बजारका स–साना चिया पसलदेखि ठूलठूला सहरमा प्रचण्डको पक्ष र विपक्षमा बहस हुन थालिसकेका छन् ।

२०६५ सालमा गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्री बनिसकेका प्रचण्ड दोहोर्‍याएर प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता बनेका छन् । प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गर्ने निर्णयका कारण उनले सात वर्षअघि पदबाट राजीनामा दिनुपरेको थियो । त्यस पश्चात उनको लोकप्रियता क्रमश: खस्कँदै आइरहेको थियो । पहिलो संविधानसभामा पहिलो रहेको माओवादी दोस्रो चुनावमा तेस्रो बन्न पुगेको थियो ।

माओवादीले आन्दोलनका बेला निकै कडा रूपमा सैद्धान्तिक शिक्षाको विरोध गर्दै शिक्षामा भइरहेको विभेदको अन्त्य, गरिबले पढ्ने सरकारी विद्यालय अनि धनीका छोराछोरीले पढ्ने महँगो विद्यालय हुनुहुँदैन भन्दै लाखौं गरिब किसानका छोराछोरीलाई युद्धमा सहभागी गराएको थियो । वैज्ञानिक र व्यावहारिक शिक्षाको मुद्दालाई अब कसरी अगाडि बढाउँछन् वा बिर्सिन्छन्, हेर्न बाँकी छ ।

– ज्ञानदिप राई
छितापोखरी, खोटाङ
यसको आयु पनि करिब नौ महिनाकै हुने निश्चित छ
फेरि पनि राष्ट्रिय सहमति हुनसकेन । आखिर देशी–विदेशी शक्तिको आडमा बहुमतीय सरकार नै बन्ने भयो । यसको आयु पनि करिब नौ महिनाकै हुने निश्चित छ र फेरि पनि चैतमा यस्तै म्यादी सरकार बन्नेछ । राष्ट्रिय हित विपरीत बन्ने यस्ता म्यादी सरकारहरू देशका निम्ति प्रत्युत्पादक नै बन्न सक्छन् भन्ने तथ्य २०४६ सालयता बनेका कैयौं सरकारहरूले सिद्ध गरिसकेका छन् । कतिपय नेतागण सरकार बन्नु र गिर्नुलाई लोकतन्त्रको सौन्दर्य ठान्छन् । तर यस्तो अतिशय छोटो अन्तरालमै विना कसुर अङ्कगणितकै खेलमा आधारित रही सरकार गिराउनु र अर्को त्यस्तै चरित्रको सरकार बनाउनुलाई लोकतन्त्रको सौन्दर्य ठान्ने हो भने यो वास्तवमै भद्दातन्त्र हो र साँच्चै यो लोकतन्त्रको विकृत रूप हो ।

भारतीय सञ्चारमा आउने खबर त्यसै पनि अतिरञ्जनापूर्ण हुन्छन् । यस तथ्यको पुष्टि स्वयं भारतीय विद्वत् समाज र नागरिकहरूले पटक—पटक गरिरहेकै छन् र हुन्छन् पनि । त्यसमा पनि भारतीय सञ्चारगृहहरू नेपालको विषय आउनासाथ त्यसलाई हावामा उछाल्छन् र स्वैरकल्पना प्रस्तुत गर्छन् भन्ने तथ्य फेरि पनि खुलेरै बाहिर आयो ।

ओलीले राजीनामा दिएपछि भारतीय सञ्चार माध्यमले यसलाई ओली र चीनको हार र भारतको जितको संज्ञा दिएको पाइयो । यही नै भारतको नीति र दृष्टिकोण भए यसले एकातिर ओली सरकारले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताका निम्ति लिएको अडान साँच्चै प्रशंसनीय र अनुकरणीय रहेछ । उनले राष्ट्रिय स्वाभिमान र गौरवलाई उच्च राख्न गम्भीर भई काम गरेका रहेछन् भन्ने पुष्टि भयो भने अर्कोतिर नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वाधीनता खतरामा छ भन्ने सङ्केत गर्‍यो । यसलाई अबको सरकार, प्रतिपक्षी दल र आम नागरिक सबै मिलेर प्रतिकार गर्नुपर्छ भन्ने तथ्य उजागर भएको छ ।

– डा. धनपति कोइराला
कावासोती, नवलपरासी
छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध सुमधुर बन्न सकोस्
गणतान्त्रिक नेपालको स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सार्थक व्यक्ति पुष्पकमल दाहाललाई दोस्रोपटक यो मुलुकले प्रधानमन्त्रीका रूपमा पाएको छ । आफूलाई युद्धको बलमा स्थापित गरेका उनले रुक्माङ्गत कटवाल प्रकरणमा प्रधानमन्त्री पदबाट हात धुनुपरेको थियो । आफूलाई राजनीतिको फरक कित्तामा उभ्याउने उनीबाट देश र जनताले धेरै आशा गर्नसक्ने अवस्था रहेको छ । दृढ र हठी स्वभावका उनी राष्ट्रियताका संरक्षरण र प्रबद्र्धन गर्ने व्यक्तिका रूपमा चिनिन्छन् ।

उच्च संवेगले व्यक्ति अनि पार्टीलाई नै हानि पुर्‍याउँदो रहेछ भन्ने उनले राम्ररी बुझेका छन् । संसदको तेस्रो दलबाट प्रधानमन्त्री बन्नु आफैंमा फलामको च्युरासरह हो । तथापि उच्च राजनीतिक छविका कारण यो सबै व्यवस्थापनमा उनी सक्षम हुनेछन् । बाहिर अनि भित्र मिलाएर संविधान कार्यान्वयन प्रक्रियामा सफल हुने आशा अनि विश्वास गर्न सकिन्छ ।

प्रचण्डले केही रिस अनि आवेगलाई नियन्त्रण गर्दै सरकारमा संलग्न दल र प्रतिपक्षी दल सबैलाई मिलाएर लैजान सकून् । देशमा देखिएको गत्यारोधको अन्त्य होस् । छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध सुमधुर बन्न सकोस् । प्रचण्ड उच्च कार्यशैली र क्षमता प्रदर्शन गर्दै आफ्नो कार्यकाल सफल बनाउन सकुन् ।

– गोविन्द रिमाल
गैंडाकोट–५, नवलपरासी
source:kantipur

Share To:

तपाईको प्रतिक्रिया :