काठमाडौं,२६ साउन । मंगलबार एकता घोषणाको टुंगो लागेको दुई राप्रपा एकीकरण राप्रपा अध्यक्ष पशुपति राणाबाट सोमबार एकतर्फी विज्ञप्ति गरी एकाएक भाँडिएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरेको पत्रकार भेटघाटमा देशमा भयावह संकट आउने भाविष्यवाणि गरेका छन् । उनले दुई राप्रपाबिचको एकता भाँड्ने तत्वलाई ‘अदृश्य शक्ति’ को संज्ञा दिदै ओली सरकार ढाल्ने र आफुहरुबिचको एकता बिथोल्ने एकै शक्ति रहेको संकेत गरेका हुन् ।


अस्तिमात्र संसद्मा बोल्दै ‘नेपाली जनताको निर्णायकत्वमा फेरि पनि कालो बादल लागेको’ बताएका थापाले फेरि पनि अदृश्य शक्ति नेपालको अस्तित्वमाथि नै खतरा रहेको औंल्याएका छन् । उनले राष्ट्रियता र स्वाधीनता नै खतरा रहेको बताए । थापाले संविधान निर्माणका बेलैमा पनि यस्तै चलखेल भएको तर दलहरुको एकताले ‘त्यस्तो शक्ति’ पारजित भएको उदाहरण नेपालीहरु नै रहेको भन्दै राष्ट्रिय शक्तिहरु फेरि फुट्तै जानुले देशको भविष्य झनै भयावह भएको बताएका हुन् ।

कार्यक्रममा आफ्नो पार्टी एकीकरण हुन नसकेका कारणहरुको भित्री रहस्यहरु खोतल्दै लामो भाषण दिएका थापाले पत्रकार सम्मेलन मार्फत् खोलेका १० रहस्यहरु यहाँ प्रस्तुत गरिएको छ—

१ .ठूल्ठूला संकट आउँदैछन्
नयाँ गठबन्धन तिर औंल्याउँदै पूवै परराष्ट्रमन्त्री समेत रहेका थापाले भने, ‘अब राष्ट्रियतामाथि आघात हुनेगरी संविधान संशोधनको प्रयास हुनेछ र त्यसबेला राष्ट्रवादी शक्तिहरुले मिल्ने विषयमा सहकार्य गर्नु पर्ने म देखिन्छ । मैले राष्ट्रवादी शक्ति राप्रपा नेपाललाई मात्रै भनिरहेको छैन, अरु पनि छन् । खासगरी एमाले पनि राष्ट्रियता र स्वाधीनतालाई तलमाथि हुन दिने पक्षमा देखिएको छैन ।’उनले संविधान संशोधनमा कांग्रेस र एमाले नै मिले भने बेग्लै कुरा रहेको भन्दै राष्ट्रियताको विषयमा एमाले समेत दृढ रहेकाले संविधान जथाभावी संशोधन हुने कुरा नहुनेमा सजग गराए । संशोधन हुँदा देशमाथि आघात पुग्ने भन्दै एमाले बेगर संशोधन गर्न दुईतिहाई नपुग्ने उनको तर्क छ । एमाले बेगरको दुई तिहाई पुग्ने भए अदृश्य शक्तिले खतरनाक गमे खेल्ने भन्दै उनले एमालेभित्र पनि त्यो शक्तिले फुट सिर्जना गर्न सक्नेतिर सजग गराएका छन् ।

२ .राष्ट्रहितलाई ध्यान दिनु भारत विरोधी किन भनिदै छ ?
थापाले उपस्थित पत्रकारहरुलाई सम्बोधन गर्दै भने, ‘तपाई साथीहरु पनि महसुस गर्न सक्नुहुन्छ, हामीले आफ्नो राष्ट्रको हितलाई ध्यानमा राखी गरेका कामलाई भारत विरोधी भनेर परिभाषा लगाइँदैछ । खासमा हामी कोही भारत विरोधी छैनौं, चीन विरोधी पनि छैनौं । नेपालको हितमा छिमेकीलाई अहित नहुने कामलाई भारत विरोधी भनेर अर्थ लगाइनु गम्भीर विषय हो । यसले भविश्य सकारात्मक छैन भन्ने संकेत गर्छ । देशको राष्ट्रियतामाथिको संकट अझ बढेर जाने देखिएको छ ।

३. प्रचण्डलाई जंगल पुर्याइदिने धम्की तारन्तार
संविधान निर्माण अघि संविधान नबनाउन दबाब दिदै भारतीय विदेश सचिवले माओवादीका दुइटै नेताहरुलाई धम्की दिएको रहस्यमय कुरा समेत थापाले आज सार्वजनिक गरेपछि धेरैले यो कुरालाई चासो पूर्वक सुनेका थिए ।

थापाले भने, ‘संविधान निर्माण गर्नुअघि लाजिम्पाटमा दुईवटा पूर्व प्रधानमन्त्रीलाई भारतीय विदेश सचिवले एउटै कोठामा राखेर संविधान नल्याउन धम्की नै दिएका थिए । पुष्पकमल दाहालजी र अर्का पूर्वप्रधानमन्त्री ९बाबुराम भट्टराई०लाई हामी नभएको भए तिमीहरु अहिलेसम्म जंगलमा हुन्थ्यौ भनेर धम्की दिइएको कुरा लुकेको छैन । तर, त्यसबेला दाहालजीले राष्ट्रियताको भावनाले ओतप्रोत भएर हो कि परिस्थितिका कारण हो त्यो धम्कीलाई अस्वीकार गर्नु भयो ।’ माओवादी केन्द्रका अध्यक्ष दाहालले त्यो बेला अस्वीकार गरेको तर अहिले प्रभावमा परेको कुरा अनुसन्धानको विषय हुन सक्ने बताए ।

४. ओली नलत्रेपछि संविधान बन्यो नत्र कांग्रेस बनाउने पक्षमा थिएन
संविधान निर्माणको तत्कालीन सिनारियो बताउँदै थापाले भने, ‘संविधान बनाउनबाट रोक्न एमाले अध्यक्ष केपी ओलीलाई पनि दबाब दिइएको थियो । तर ओली उनीहरुको दबाबसामु लत्रिनु भएन ।ओली र पुष्पकमल दाहाल संविधान बनाउनै पर्ने अडानमा उभिएपछि कांग्रेसले लत्रिएर स्वीकार गरेको मात्र हो । नत्र सुशील कोइराला नेपाली जनताको त्यो निर्णायकत्वको पक्षमा देखिनु भएको थिएन ।’

५ .विपक्षमा मतदान गरेपनि आफू गौरवान्वित भएको
थापाले संविधान निर्माण एमाले र माओवादीको दबाबले मात्र सम्भव भएको बताउँदै काँग्रेसले बाध्यताबश स्वीकार गरेको बताए । उनले भने, ‘त्यसबेला कांग्रेस बाध्य भएको थियो । बाह्य दबाबलाई पन्छाएर त्यसरी राष्ट्रको आन्तरिक निर्णायकत्व स्थापित हुँदा म यो संविधानको विपक्षमा मतदान गर्दा गर्दै पनि गौरवान्वित भएको थिएँ ।’ दिल्लीको दोस्रो सम्झौता १२ बुदेमा खोसिएको स्वत्व संविधान निर्माणले फिर्ता गरेको थापाले माओवादी सहितको ०६२ साल मंसिर ७ गते दिल्लीमा भएको १२ बुँदे सहमतिलाई नेपालको आन्तरिक निर्णायकत्व लुटिएको दोस्रो शृंखलाका रुपमा चित्रण गर्दै संविधान जारी हुँदा खोसिएको देशको आन्तरिक निर्णायकत्व फर्केको बताए ।

६ .ओली नेतृत्वको सरकारले पनि देशको निर्णायकत्व स्थापित गरेको
एक अर्को घटना उद्धृत गर्दै थापाले भने, ‘अर्को घटना केपी ओलीको नेतृत्वमा सरकार बनाउँदा पनि त्यसैगरी देशको निर्णायकत्व स्थापित भयो र ओली नेतृत्वको सरकारले यस दिशामा देशको उचाइ बढाउन कोसेढुंगाकै काम गर्यो ।’

७ . वैशाखमै सिद्धयाउने खेल रहेछ 
तर यसलाई कसरी असफल पार्ने भन्ने प्रयास रोकिएको रहेनछ । गत बैशाखमा पनि सरकार गिराउन निर्णायक रुपमा कदम चालिएका थिए । त्यो असफल भएपछि मलाई त्यसबेला पनि देशको निर्णायकत्वले एक चरणको विजय प्राप्त गरेजस्तो लागेको थियो । तर, काम टुंग्याउन बाँकी रहेछ । अहिले आएर सरकार परिवर्तन गरी त्यसलाई पूरा गरे । यसले नेपालको राजनीतिमा जनताको निर्णायकत्वमाथि कालो बादल मडारिएको छ ।’

८ .अदृश्य शक्तिको योजना
अहिले हेर्दा सामान्य जस्तो लाग्छ । तर, म गम्भीर भएर भन्दैछु सुसुप्त र गम्भीर रुपमा राष्ट्रियता र राष्ट्रिय स्वाधीनता संकटमा पर्दैछ । अझ केही समयपछि देखिनेछ, यो कति गम्भीर दिशामा जाँदैछ भन्ने ।

९. २ राप्रपा एकता संसदको गणित मात्रै थिएन
संसदको गणितलाई फरक पार्न मात्रै राष्ट्रवादी शक्तिको एकता भनेर दुई राप्रपाको एकीकरणको कुरा गरिएको थिएन । राष्ट्रियतामाथि संकट आउँदा राष्ट्रिय स्वाधीनता र नेपालको पहिचान बचाउने शक्तिहरुको मनोवल बढाउन यो काम गर्न खाजिएको थियो । तर, पशुपति शमशेरजीलाई अदृश्य शक्तिबाट आएको दबाबसामु उहाँ लाचार हुँदा यसमाथि तुषारापात भएको छ । यस सन्दर्भमा संविधान निर्माण पछिको असोज २४ गते प्रधानमन्त्री निर्वाचनको सन्दर्भ स्मरण हुने गरी थापाले भने, ‘स्व। सुशील कोइराला परिवन्दमा परेजस्तै पशपतिजी कस्तो परिवन्दमा पर्नु भो अचम्म लागेको छ ।’

१० .राणको भारत भ्रमण टर्निङ प्वाइन्ट
दुई राप्रपाबिचको एकीकरणमा आएको अवरोध एकाएक नभई केही अघिदेखिको खेल रहेको र त्यसमा पशुपति राणाको भारत भ्रमण कडी बनेको थापाले बताए । उनले भने, घ७ गते दुबै पार्टीको संयुुक्त टोलीले पार्टी एकताको नीति तथा आधार पत्र तयार पारेको थियो । बैठक स्थलबाटै राप्रपाका तत्कालीन नेता पशुपतिशम्शेर राणा भारत भ्रमणमा गए । माओवादीले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लियो र सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भयो । त्यसबेला ओली सरकारको उपप्रधान एवं परराष्ट्रमन्त्री रहेका थापा भन्छन्, ‘पशुपति जी भारत भ्रमण छोट्याएर आउनु भो र सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीमा दबाव दिनुभो ।’ थापाका अनुसार राणाले पार्टीलाई अविश्वासको प्रस्तावको पक्षमा उभिन बाध्य पारेपछि नै राप्रपा र राप्रपा नेपालको एकता अवरुद्ध हुने संकेत पाइसकेको थियो।
(राप्रपा र राप्रपा नेपालको एकीकरण नभएपछि मंगलबार गरिएको पत्रकार सम्मेलनमा थापाले प्रस्तुत गरेको विचारको संपादित अंश)
Share To:

तपाईको प्रतिक्रिया :