काठमाडौं, २८ साउन । लामो प्रयासपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघभित्र देखिएको प्रतिनिधि विवाद मिलेको छ। विवाद मिलाउन समय लागेको भन्दै शनिवारका लागि निर्धारित गरिएको चुनाव आइतबारका लागि सारिएको छ। पार्टीका केन्द्रीय सदस्य डा। प्रकाशशरण महत संयोजकत्वको निर्देशक समितिले गएराति महाधिवेशनमा भाग लिने प्रतिनिधिको अन्तिम टुंगो लगाएपछि शुक्रवारबाट निर्वाचन प्रक्रिया अघि बढ्ने भएको नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिए।
लामिछानेका अनुसार निर्वाचन समितिले शुक्रवार दिउँसोसम्म प्रतिनिधिहरुको सूची प्रकाशन गर्नेछ। मतदाता सूची प्रकाशनसँगै निर्वाचनको नयाँ तालिका पनि सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ। यसअघि शुक्रवार मनोनयन दर्ता र शनिवार हुने चुनावको तालिका भने परिवर्तन गरिएको छ। लामिछानेका अनुसार शनिवार हुने भनिएको चुनाव आइतबार हुनेछ। शनिवार उम्मेदवारको मनोनयन दर्ता र पर्सी आइतबार निर्वाचन हुने उनले बताए।
प्रतिनिधिको अन्तिम नामावली सानेपास्थित पार्टी कार्यालयमा टाँसिने लामिछानेले बताए। उम्मेदवारको मनोनयन दर्ता पनि पार्टी कार्यालयमै गरिने छ। मनोनयन दर्ताको स्थान तय भएपनि निर्वाचन पार्टी कार्यालयमै गराउने वा कहाँ गराउने भन्ने विषय भने अझै तय भइसकेको छैन।
प्रतिनिधि विवादका कारण बन्द सत्र चारदिन देखि स्थगित हुँदै आएको छ। महाधिवेशनमा झन्डै ३४ सय प्रतिनिधि सहभागी छन्। ९ वर्षपछि महाधिवेशन भएकाले नेतृत्वमा पुग्ने आकांक्षीहरुको संख्या धेरै देखिएको छ। अर्को महाधिवेशनदेखि ३२ वर्ष उमेर पुगेका विद्यार्थीले नेतृत्वको अवसर नपाउने गरी विधान संशोधन हुन लागेका कारण पनि नेतृत्वका आकांक्षीहरुको संख्या धेरै भएको हो।
अध्यक्षमा क–कसको दाबी ?
अध्यक्षका सभापति शेरबहादुर देउवा पक्षबाट पूर्वमहामन्त्री जितजंग बस्नेत र पूर्वउपाध्यक्ष नैनसिंह महर तथा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्य, निलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, दिपक भट्टराई लगायतले उम्मेदवारी घोषणा गरेका छन् भने कृष्ण सिटौला पक्षबाट कुन्दनराज काफ्लेले उम्मेदवारी घोषणा गरेका छन्। महाधिवेशनले एक अध्यक्ष, ११ जना उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्षसहित १ सय २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। त्यसवाहेक विभिन्न पद्मा २२ जना मनोनित गरिने छन्।



तपाईको प्रतिक्रिया :