सुदूरपश्चिम सेवा समाज यूएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्व गौराको शुभ अवसर पारेर रोजगारीको सिलसिलामा यूएईमा कार्यरत सबै सुदूरपश्चिमबासीलाई एकै ठाउँमा भेला गरेर बिरुडा प्रसाद ग्रहण गर्दै २६ अगस्ट २०१६ शुक्रबारका दिन जाबेल पार्क बरदुबईमा धुमधामका साथ ‘गौरा पर्व’ मनाउने भएको छ । ‘हाम्रो परम्परा, हाम्रो सांस्कृति, हाम्रो पहिचान, सहयोगार्थ चेतना जगाउने अभियान’ भन्ने मूुल नाराका साथ गठन भएदेखि नै आपत्त वपत्तमा मानवीय सहयोगका कार्य गर्दै आएको छ । 

आफ्नो छुट्टै पहिचान बनाउन सफल सुदूरपश्चिम सेवा समाज यूएईले गौरादेवीको पूजाआजा गर्दै बिरुडा प्रसादसँगै देउडा खेलेर गौरा पर्व मनाउन लागेको हो । समाजले अन्य सङ्घ संस्थाका कार्यक्रमभन्दा भिन्न किसिमको मनोरञ्जन दिँदै सांस्कृतिक कार्यक्रमहरु गर्दै गौरा पर्व २०१६ कार्यक्रमको पूर्ण तयारी भई सकेको संस्थाकी कोषाध्यक्ष टिकेश्वरी भण्डारीले जानकारी दिइन् । सुदूरपश्चिमी पहाडका गाउँगर्खामा सुनिने गौराका गीतहरुको रन्को सुदूर पश्चिमेलीहरुले काठमाडौँको खुल्ला मञ्चमा पनि हरेक वर्ष मनाउँदै आएका छन् । यो नाच नेपालमा मात्र नभएर वैदेशिक रोजगारीको सिलसिलामा अन्य देशमामा समेत मनाउन थालेका छन् । गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्ला र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो । 
गौरा पर्वको पहिलो दिन घरघरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गर्छन् । गौरा पर्व भाद्र शुक्लपक्षको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । यसको पहिलो दिन व्रतालु महिला निराहार बसी आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् र व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ ।

 बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको मूर्ति बनाई गौराघरमा भित्रयाउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्रयाइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्रयाइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाढ्नुका साथै माया प्रेम बाँढ्ने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । सुदूरपश्चिम सेवा समाज यूएईले रोजगारीका सिलसिलामा यूएईमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई २६ अगस्ट २०१६ शुक्रबारका दिन गौरा पर्व कार्यक्रममा सहभागी भएर बेग्लै खालको अनुभव लिँदै, गौरादेवीको पूजाआजा गर्दै, बिरुडा प्रसादसँगै विशेष देउडा खेलेर कार्यक्रमलाई भव्यताका साथ सफल पारिदिन अनुरो गर्दछ । f
Share To:

तपाईको प्रतिक्रिया :