श्रावण २८, २०७३- चौध वर्षदेखि फेसन डिजाइनिङ क्षेत्रमा आबद्ध आन्द्रेस आकिनो ‘कोतुर फेसन विक न्युयोर्क’ का कारण निकै चर्चित छन् । अमेरिकाका ठूलठूला फेसन सोहरूमध्ये पर्ने कोतुरका आयोजक उनी यसलाई अझै व्यापक बनाउन चाहन्छन् । फ्रान्स, जर्मनी लगायत विभिन्न देशमा आयोजना भइसकेको यो फेसन सो आउँदो शनिबार बौद्धस्थित हायात होटलमा हुँदै छ ।
कार्यक्रममा लागि बुधबार नै राजधानी ओर्लिएका उनी सांस्कृतिक रूपमा धनी नेपालले आफ्नो सीपलाई परिष्कृत बनाउन सघाउनेमा आशावादी देखिए । ‘यहाँको पस्मिना र ढाकाबारे धेरै सुनेको छु,’ कान्तिपुरसँगको भेटमा उनले भने, ‘मिल्यो भने ती फेब्रिकका आउटफिट बनाउने योजना छ ।’
बोस्टन कलेजबाट कम्युनिकेसन एन्ड थिएटरमा स्नातकोत्तर गरेका आन्द्रेस पढाइपछि फोटोग्राफीतिर लागेका थिए । नाटक निर्देशन, व्यवसाय, पुस्तक लेखन, फेसन डिजाइनिङ जस्ता थुप्रै विधामा हात हालेका उनलाई धेरैले सोध्ने गर्छन्, ‘किन जता पनि छरपष्ट भएको ?’ यसको उत्तर दिन धेरै सजिलो लाग्छ रे उनलाई । भन्छन्, ‘कलासँगै सम्बन्धित कामहरू गरिरहेको छु । नाटक, फोटोग्राफी, फेसन सबै एकअर्कामा जोडिएका छन् ।’ वर्षको दुईपटक हुने कोतुर फेसन विकलाई नेपाल ल्याउन पाउँदा आफू निकै उत्साहित भएको भन्दै उनले सोमा स्थानीयपनको फ्लेभर आउने गरी तयार पारिएका ग्लोबल ट्ेरन्डका पहिरन सार्वजनिक गर्ने जानकारी दिए ।
विशेष गरी महिलाका पहिरन डिजाइन गर्ने उनले नेपाली मोडलहरूबारे पनि थोरबहुत सुनेका रहेछन् । यहाँका युवतीहरू र्याम्पका लागि अलि होचा भए पनि निकै क्युट हुने गरेको बताए । ल्याटिन अेमेरिकाको डोमिनिकन रिपब्लिकमा जन्मेर संयुक्तराज्य अमेरिकालाई आफ्नो कर्मभूमि बनाइरहेका उनी अहिले सामाजिक सञ्जालका कारण विश्वभरको फेसन शैली लगभग उस्तै हुने गरेको पाउँछन् । ‘जिन्स जहाँ पनि पुगेकै छ,’ उनले भने, ‘वान पिस, स्कर्ट र गाउनहरू पनि ग्लोबल वेयर बनेका छन् । विश्वभरि नै फेसन साझा बनेको देख्छु ।’ उनका अनुसार स्थानीय सांस्कृतिक पहिरनसँगै डिजाइनर वेयरहरू पनि ‘युनिभर्सल’ बनिरहेका छन् ।
विश्वका थुप्रै डिजाइनरले बुनेका पहिरनमा ख्यातिप्राप्त मोडलहरू सहभागी हुने कोतुर मा यसपालि नेपालका दुई मोडल र एक डिजाइनरलाई पनि स्थान दिने उनले बताए । त्यसो त अघिल्लो साल मोडल दीपक घिमिरे उक्त सोमा देखिएका थिए । उनकै पहलमा आन्द्रेसले आफ्नो ब्रान्ड यहाँ ल्याएका हुन् । मौसम, वातावरण र आफू वरिपरिका टेक्सचरले समेत नौलानौला डिजाइन निर्माणमा आइडिया दिने भन्दै उनी सांस्कृतिक सहर भक्तपुर भ्रमणमा जान उत्साहित देखिन्थे । ‘एकचोटि सान्टिआगो डी लस काबालेरस जाँदा त्यहाँका घरको बुट्टाले स्ट्राइक गर्यो,’ उनले भने, ‘भक्तपुर पनि कलात्मक छ रे, केही न केही फुर्ला ।’
शनिबारको कार्यक्रममा आन्द्रेसले डिजाइन गरेका कपडा मिस हन्डुरस, मिस पाराग्वेसँगै फिनल्यान्ड र अमेरिकाका मोडल र्याम्पमा देखिँदै छन् । आइतबार नै स्वदेश फर्किने उनीहरू बुधबार एकसाथ काठमाडौं आएका थिए । ‘२२ घण्टाको उडानपछि नेपाल झर्दा सारा थकाइ अचानक मेटिएजस्तो भयो,’ मिस पाराग्वे सान्डी कासेरिसले भनिन्, ‘कार्यक्रमप्रति पनि किनै
उत्साहित छु ।’



तपाईको प्रतिक्रिया :