महान एथ्लेटिक्स खेलाडीहरु उसेन बोल्ट र मोहम्मद फाराहको अन्तिम खेल हेर्न ७ लाख टिकटका लागि १० लाखभन्दा बढीले आवेदन दिएका छन् ।
यी दुई खेलाडीले अर्को बर्ष लण्डनमा हुने विश्व एथ्लेटिक्स च्याम्पियनसीपपछि खेलजीवनबाट सन्यास लिने संभावना छ । त्यही प्रतियोगिता हेर्न १० लाखभन्दा बढीको आवेदन परेको हो ।
कीर्तिमानी ९ पटकका ओलम्पिक च्याम्पियन ३० बर्षीय बोल्टले अन्तिम प्रतिस्पर्धा लण्डनमा गर्नेछन् ।
उता ५ हजार र १० मिटर दौडका ओलम्पिक र विश्व च्याम्पियन बेलायती फाराहले त्यसपछि म्याराथनमा आफुलाई केन्द्रित गर्ने योजना बनाएका छन् ।
आयोजकका अनुसार एक बर्ष पछि हुने प्रतियोगिताको टिकटका लागि अहिलेसम्म १० लाख ४७ हजारले आवेदन दिएका छन् । १४ सेसनमध्ये चौथो र पाँचौं सेसनका लागि दर्शकको माग बढी छ । १०० मिटर दौडको फाइनलका लागि मात्रै अहिलेसम्म २ लाखभन्दा बढीको आवेदन छ ।
क्वीन एलिजावेथ ओलम्पिक पार्क (जुन इंग्लिस प्रिमियर लिग क्लव वेष्ट हृयामको घरेलु मैदान) को एक सेसनमा ५० हजार दर्शक क्षमता छ ।
गत महिना ब्राजिलमा सम्पन्न ओलम्पिकमा बेलायती खेलाडीहरुको उत्कृष्ट प्रदर्शनपछि बेलायतीहरु पनि आफ्ना खेलाडीको खेल हेर्न लालायित बनेको हुनसक्ने अनुमान गरिएको छ । त्यसैले अर्को बर्ष हुन लागेको ठूलो प्रतियोगितामा उनीहरुको मोह बढेको हुनसक्छ ।
११ पटकका विश्व च्याम्पियन उसेन बोल्ट इतिहासकै तीव्र गतिका मानिस हुन् । त्यसैले उनले खेलजीवनको संभवतः अन्तिम प्रतिस्पर्धा हेर्न चाहनेहरुपनि संसारभर नै छन् ।
प्रतियोगिता २०१७ को अगष्ट ४ देखि १४ तरिखसम्म हुनेछ ।



तपाईको प्रतिक्रिया :