जलेश्वर-जनकपुर–भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले शुक्रबार एकैदिन जनकपुर–जलेश्वर–भिठ्ठामोड र जनकपुर–तिनकौरियागरी दुई सडकको शिलान्यास गरेपछि स्थानीय खुशी भएका छन् ।

सडकको स्तरोन्नतिका लागि राजमार्ग क्षेत्रका पीडित बासिन्दा र केही राजनीतिकर्मीले चरणबद्ध रुपमा सङ्घर्षको कार्यक्रमलाई अगाडि बढाएका बेला मन्त्री लेखकले सडकको शिलान्यास गर्दै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडक सरकार आफैँले बनाउने निर्णय गरिसकेकाले ती सडकमा तत्कालै काम सुरु हुने बताए ।
बारम्बार ठेक्का लागेर पनि निर्माण नहुँदा स्थानीयले आक्रोसित हुँदै सडकमै धर्ना बस्न थालेको एक सातापछि मन्त्री लेखकसमेत धनुषा–महोत्तरीको आधा दर्जन सांसदको टोलीले शुक्रबार सडकको शिलान्यास गरेका हुन् ।

महोत्तरी सदरमुकाम जलेश्वरको खैरा चोक र धनुषाको देउरी परवाहामा मन्त्री लेखकसमेत महोत्तरीका सांसदहरु गिरिराजमणि पोखरेल र किरण यादव तथा धनुषाका रामकृष्ण यादवलगायतको टोलीले सडकको शिलान्यास गरेका हुन् ।

सडक शिलान्यासपछि महोत्तरी जिविसको सभाकक्षमा भेला भएका स्थानीय राजनीतिकर्मी तथा नागरिक समाजलाई सम्बोधन गर्दैै मन्त्री लेखकले महोत्तरी र जनकपुरलाई भारतीय सीमासँग जोड्ने व्यापारिक र पर्यटकीय महत्वको यो सडक नेपाल सरकारको आफ्नै श्रोतबाट स्तरोन्नती गरिने जनाए ।

नेपाल सरकारले यो समेत हुलाकी सडकअन्तर्गतका १७ वटा सहायक मार्गमध्ये ६ वटा मार्ग स्तरोन्नतिका लागि ५ अर्ब ४४ करोड व्यवस्थापन गरिएको उनको भनाई थियो । ‘अब यो सडक बन्दैन की भन्ने कसैले आशंका नगरे हुन्छ,’ लेखकले भने ‘राज्यले ९३ करोड ४३ लाख बजेट व्यवस्थापन गरिसककोले अव ४ लेनमा आगामी ३ वर्षभित्र कालोपत्रे भै सक्ने छ ।’

सडक निर्माणकै लागि आन्दोलनमा उत्रेका अगुवा नागरिकलाई अब निर्माण सुरु हुन लागेको कार्यको गुणस्तर एंव नियमितताको अनुगमन गर्न आग्रह गर्दै उनले भने, ‘चार लेन बनाउन लागिएको सडकमा पैसाको कमि हुँदैन । तर, गुणस्तर र समयमै कार्य सम्पन्न गराउन तपाइहरुको पनि जिम्मेवारी हो ।’

यस्तै, सडक शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री लेखकले हुलाकी राजमार्ग निर्माणमा रकम अपुग हुन नदिने बताए । उनले सडकको गुणस्तरमा समेत कुनै सम्झौता नहुने बताए । ‘तराई मधेस र भारतीय सीमासँग जोडिएका राजमार्गहरु ब्यापारीक मार्गका रुपमा निर्माण गर्नुपर्छ,’ मन्त्री लेखकले भने, ‘यसका लागि रकम अभाव हुँदैन ।’

विगत लामो समयदेखि हुलाकी सडक निर्माण सुरु गरिए पनि विविध समस्याका कारण निर्माणमा ढिलाई भएको बताउँदै मन्त्री लेखकले भने, ‘अहिले पनि हुलाकी सडक निर्माणका लागि आर्थिक स्रोत कहाँ र कसरी व्यवस्थापन गर्ने भन्नेजस्ता समस्या देखियो । भारतले पनि ठूलै सहयोग गरेको छ ।’

महोत्तरीबाटै निर्वाचित सांसद किरण यादवले सुगम भनिएपनि धनुषा–महोत्तरी जस्ता जिल्लाका अधिकांस सडकमा एम्बुलेन्स गुड्ने अवस्था नरहेको बताइन् । जिल्ला सदरमुकाम र मुख्य बजार जोड्ने सडकहरु नै जिर्ण छन्, उनले भनिन्, स्वास्थ्य निकायसम्म एम्बुलेन्सको पहुँच हुन नसकेर प्रसव व्यथाले च्यापेर घरमै गर्भवति महिलाहरु अकाल मृत्युको मुखमा पर्न बाध्य छन् । मन्त्रीजीलाई मेरो आग्रह, यस्ता सडकहरुलाई प्राथमिकतामा राखेर स्तरोन्नति कार्य सुरु गरियोस् ।

पूर्व मन्त्री गिरिराजमणि पोखरेलले धनुषा र महोत्तरीलाई जोड्न लाइफलाइनको रुपमा रहेको सडक निर्माणको लागि शिलान्यास भइसकेपछि सडकमा विरोध गर्नेहरुले प्लेकाड फालेर गुणस्तरीय निर्माण गराउन सहयोग गर्नुपर्ने बताए । विरोधै विरोधको चक्करमा प्राप्त हुन लागेको उपलब्धी पनि नगुमोस्, बरु निर्धारित समयभित्र गुणस्तरीय कार्य गराउन ठेकेदारलाई निरन्तर दबाव दिनुस्, उनले भने ।

विकासको मूख्य पूर्वाधार मानिएको यो सडकको जर्जर अवस्थाले यहाँको दैनिक जीवनमा अनेकन कठिनाई मात्र थपिएको छैन, महोत्तरीको समृद्धि र प्रगतिलाई नै असहज बनाएपछि स्तरोन्नतिका लागि सरकारलाई चौतर्फी दवाव परेको थियो ।
सन् २०१० मै भारतीय ठेकेदारले काम सुरु गरे पनि केही दिनपछि छाडेर भागेपछि स्थानियमा शिलान्यास भएर पनि फेरि पनि नबन्ने पो हो की भन्ने आशंका व्याप्त रहेको छ । भारतले दिने रकमबाट सबै सडक निर्माण हुन नसक्ने भएपछि केही सडक सरकार आफैँले बनाउने निर्णय गरेको उनले बताए ।

हुलाकी राजमार्ग परियोजनाका निर्देशक बलराम मिश्रले १८.७५ किमी लम्बाइ रहेको सो सडकलाई दुई भाग गरिने जानकारी दिए । उनका अनुसार एउटा सडक दूधमती नदीदेखि कुटमेसरी नदी (० किमीदेखि ९ किमी) सम्म र अर्को कुटमेसरी नदीदेखि ९.७५ किमी भिठ्ठामोडसम्म छ ।
पहिलो भाग प्रतिभा वाइपी जेपी कन्स्ट्रक्सन कम्पनी नेपालगंज र दोस्रो रोशन कन्सट्रक्सन कम्पनी काठमाण्डौले गर्ने छन् । कुल रु. ९६ करोड ८५ लाखको लागतमा स्तरोन्नति हुने सो सडकको दुवै भागको काम एकै पटक सुरु हुनेछ ।

त्यस्तै, जनकपुरदेखि तिनकौरिया सम्मको २५ किलोमिटर सडक निर्माणको लागि ५० करोड ९२ लाख ८७ हजार ९ सय ५९ रुपैयाँमा लामा रमण जेभीसँग ठेक्का सम्झौता गरिएको मिश्रले बताए । दुई लेनमा बन्ने यो सडक दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुलाकी राजमार्ग जनकपुर कार्यालयका प्रमुख अर्जुन यादवले जनाए ।

यस्तै जलेश्वर–भिठ्ठामोड–जनकपुर सडक खण्ड छ लेनको भनिए पनि बस्ती नभएको स्थानमा चार लेनकै हुनेछ । तत्कालीन भौतिक निर्माणसचिव गजेन्द्र ठाकुरले सम्पूर्ण सडक छ लेन नै बनाउन आदेश दिइए पनि ठेक्का प्रक्रिया अगाडि बढिसकेकाले गाउँ बस्तीमा छ र बस्ती नभएकामा चार लेन सडक बन्ने हुलाक कार्यालय जनकपुरका प्रमुख अर्जुन यादवले बताए । कालोपत्रे समेत सडक क्षेत्रको कुल चौडाइ ५० मिटर (१८५ फिट) रहने छ ।

यता, सडक निर्माण कार्यको औपचारिक थालनी (शिलान्यास) गर्न मन्त्रीको टोली जनकपुरबाट जलेश्वर गइरहँदा १५ किलोमिटर दुरीमा सात ठाउँमा विरोधको सामना गर्नुपरेको थियो ।

छ लेनको सडक हुनुपर्ने, गुणस्तरीय सडक निर्माणको लागि सरकारीस्तरबाटै अनुगमन समिति गठन गर्नुपर्ने, १५ महिनाभित्रै सडक निर्माण कार्य पुरा गर्नुपर्ने, अगामी दशैं–तिहारभन्दा अगावै सडक मर्मत गर्नुपर्ने र पेटीकन्ट्रयाक्टरले नभई ठेक्का पाउने मुख्य ठेकेदार आफैले निर्माण कार्य गर्नुपर्ने पाँच बुँदे माग राख्दै सात दिनदेखि विभिन्न चोकमा धर्ना बसिरहेका स्थानीयले प्लेकार्ड सहित मन्त्री टोलीलाई आफ्नो माग सम्बोधन गराउन नारावाजी गरेका थिए ।

नयाँ शक्ति पार्टीका नेता रामकुमार शर्माको नेतृत्वमा साता अघि प्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई अविलम्ब सडक निर्माण कार्य सुरु गर्नुपर्ने माग सहितको ज्ञापन पत्र बुझाएपछि जनकपुरको बेला, बिन्धी, महोत्तरीको चाँदनी चोक, सहोर्वा, पिपरा, परिकौली र जलेश्वरको विभिन्न तीन स्थानमा सडकमै धर्ना बस्न थालिएको हो ।

यसअघि पटकपटक सडक ठेक्का लागेको भनिए पनि स्तरोन्नति हुन नसक्दा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन् । खाल्डाखुल्डी हुँदै दिनहुँ १०० भन्दा बढी बस र जिप, सयौँको संख्यामा मालबाहक ट्रक र हजारौँको संख्यामा मोटरसाइकल गुड्दा दिनहुँ औसतमा दुई चार दुर्घटना हुने गरेको छ । यसअघि सडक कालोपत्रे गर्ने ठेक्का पाएको भारतीय कम्पनी भिस्वा विभिएसआर जेभीले काम नै नगरी ३० महिने ठेक्का अवधि विताएर भागे पछि सडक निर्माण अलपत्र परेको थियो ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सहयोगमा भएको छलफलबाट रकम अपुग हुने सडकमा नेपाल सरकार आफै लगानी गर्ने निर्णय गरेको मन्त्री लेखिले बताए ।

हुलाकी सडक निर्माणसँगै तराई मधेसको मुहार फेरिने विश्वास व्यक्त गर्दै मन्त्री लेखकले सम्झौता अनुसारको समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कारवाही गर्ने चेतावनी समेत दिए ।

नेपाल र भारतबीच २०६६ सालमा पूर्व–पश्चिम राजमार्गबाट भारतीय सीमासम्म जोड्ने हुलाकीमार्ग निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर निर्माणको जिम्मा पाएको भारतीय कम्पनीले काम गर्ने वातावरण नभएको भन्दै बिचमै काम रोकेको थियो । त्यसपछि ६ वटा सडक खण्डको काम नेपाल आफैले र बाँकी ११ वटा भारतले निर्माण गर्ने नेपाल र भारतबीच नयाँ सहमति भएको छ ।  रातोपाटी बाट
Share To:

तपाईको प्रतिक्रिया :