भाद्र १९, २०७३- शुक्रबारदेखि तीन नेपाली फिल्म रिलिज भएका छन्। लक्ष्मण सुवेदी निर्देशित ‘लालजोडी’, निर्मल शर्माको ‘ब्रासलेट’ र राजबहादुर साने निर्देशित ‘वृन्दावन’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन्।
आफ्नै पटकथामा आफैंले लगानी गरेर फिल्म निर्देशन गरेका लक्ष्मणले फिल्ममा ज्योति काफ्लेलाई मुख्य भूमिकामा ब्रेक दिएका छन्। नेता बाबुराम भट्टराईको हुलिया र बोली नक्कल गरी चर्चामा आएका ज्योति प्राय: कमेडी सिरियलमा देखिँदै आएका छन्। ‘लालजोडी’ मा लालकाजीको भूमिकामा रहेका उनको जोडीका रूपमा आयुष्मा कार्की रहेकी छन्। ‘लोत हसाउँछ, ग्वाँ ग्वाँ रुवाउँछ’ भनिएको ‘लालजोडी’ मा नायिका रजनी केसीसहित अन्य हास्यकलाकारहरूको बाहुल्य रहेको छ। जसमा बुद्धि तामाङ, पुरन थापा, किशोर भण्डारी, गोविन्द कोइराला लगायत रहेका छन्। टंक बुढाथोकीको संगीत रहेको फिल्मको एक गीत ‘माँ कसम...’ मा नायिका रेखा थापाले समेत स्वर दिएकी छन्। रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई नवीन निरौलाले सम्पादन गरेका हुन्। यसअघि ‘एउटा साथी’ निर्देशन गरेका लक्ष्मणको ‘लालजोडी’ दोस्रो निर्देशकीय फिल्म हो। पेसाले उनी पत्रकार हुन्।
फिल्म ‘चकलेट’ बाट निर्देशन थालेका निर्मलको पनि ‘ब्रासलेट’ दोस्रो निर्देशकीय फिल्म हो। पारिवारिक प्रेमकथामा आधारित उक्त फिल्ममा रमेश उप्रेती, रजनी केसी र नम्रता सापकोटाको मुख्य भूमिका रहेको छ। नायकका रूपमा चल्तीकै अवस्थामा अमेरिका बसाइँ सरेका रमेश १२ वर्षपछि स्वदेश फर्किएर ‘ब्रासलेट’ मार्फत् अभिनयमा फिरेका थिए। उनलाई निर्माता केशव भट्टराईले कमब्याक गराएका हुन्। सुदीप बरालको छायांकन रहेको फिल्मलाई जया ओझाले लेखेकी हुन्। ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत रहेको फिल्ममा गोविन्द राई र कविराज गहतराजको कोरियोग्राफी देख्न सकिन्छ। फिल्ममा हिमाल केसीको द्वन्द्व र विपीन मल्लको सम्पादन रहेको छ।
‘लालजोडी’ ले कमेडी तथा ‘ब्रासलेट’ ले प्रेमकथा पस्किएको भने शिल्पा पोखरेलको मुख्य भूमिका रहेको ‘वृन्दावन’ मा भने एक्सन देख्न सकिने बताइएको छ। फिल्ममा किशोर खतिवडा, दीपेन्द्रप्रकाश केसी, सुशील पोखरेल, पुष्कर भट्ट, प्रकाश कँडेल, मेनका गिरीसँगै बाँदरलाई पनि अभिनय गराइएको छ। एक्सनका साथमा फिल्ममा प्रेमकथा पनि रहेको निर्माण पक्षले जनाएको छ। फिल्ममा अधिकांश दृश्य एनिमेटेड रहेको निर्देशक सानेले बताएका छन्। रुद्र खनाल निर्माता रहेको फिल्ममा द्वन्द्व अष्ट महर्जन, नृत्य रामजी लामिछाने र संगीत दीपक शर्माको रहेको छ।



तपाईको प्रतिक्रिया :